लन्डन — बेलायतको अल्डरसटस्थित क्वीन्स एभिन्यू स्पोर्ट्स फिल्डमा आयोजित गोर्खा कपको २३ औँ संस्करणमा ‘ड्रिम टिम’ च्याम्पियन बनेको छ।
नेपाली समयअनुसार आइतबार मध्यरात सम्पन्न प्रतियोगिताअन्तर्गत फाइनल खेलपछिको टाइब्रेकरमा मेनतर्फ ड्रिम टिमले गुरुजी इलियट टिमलाई ४–२ गोलले पराजित गरेको हो।
निर्धारित समयमा १–१ गोलको बराबरीपछि थप समय खेलाइएको थियो। थप समयमा गोल हुन नसकेपछि खेल टाइब्रेकरमा पुगेको हो। पेनाल्टीमा चम्किएको नेपाल ड्रिम टिमले गोर्खा कपअन्तर्गत मेन टिमको उपाधिसँगै ३ हजार पाउन्ड, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ। रनरअप गुरुजी इलियट टिमले १ हजार ८ सय पाउन्ड, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ।
मेन टिमतर्फ बेस्ट म्यानेजर नेपाल ड्रिम टिमका शक्थिम चेम्जोङ घोषित भए। बेस्ट प्लेयरको उपाधि नेपाल ड्रिमकै ईश्वर गुरुङले प्राप्त गरे। सर्वाधिक गोलकर्ताको उपाधि गुरुजी इलियटका रोबेल नाल्बोले पाएका हुन्।
भेट्रानतर्फ हिमालयन एफसी विजेता बन्दै नगद १ हजार ५ सय पाउन्ड, ट्रफी र प्रमाणपत्र प्राप्त गर्न सफल भयो। रनरअप इन्टेक २००० ले १ हजार पाउन्ड, ट्रफी र प्रमाणपत्र प्राप्त गर्यो। फाइनलमा ४–० गोलको फराकिलो अन्तरले हिमालयन एफसी भेट्रान विजेता बनेको हो।
भेट्रानतर्फ बेस्ट म्यानेजर हिमालयन एफसीका कुमार थापा बने। सर्वाधिक गोलकर्ता हिमालयन एफसीकै डा. सन्दीप गुरुङ भए। बेस्ट प्लेयरको उपाधि हिमालयन एफसीका खुम गुरुङले प्राप्त गरे।
महिला तर्फ रन्डर बोल्ट्स एफसी तामाङ समाज युकेलाई ३–० गोलको फराकिलो अन्तरले पराजित गर्दै विजेता बन्यो। रन्डर बोल्ट्सले ६ सय पाउन्ड, ट्रफी र प्रमाणपत्र प्राप्त गर्यो। उपविजेता तामाङ समाजले ४ सय पाउन्ड, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ। महिलातर्फ बेस्ट प्लेयरको उपाधि गरिमा राईले प्राप्त गरिन्।
यस वर्ष गोर्खा कपमा मेनतर्फ ३२, भेट्रानतर्फ १६ र महिलातर्फ २ टिम गरी ५० टिम सहभागी भएका थिए। ‘फुटबल लिजेन्ड अफ गोर्खा कप’ को उपाधि लोकप्रसाद चेम्जोङ धनकुटेलाई प्रदान गरिएको छ। आयोजक तमू धींले पहिलोपटक यो उपाधि प्रदान गरेको जनाएको छ।
विजेता र उपविजेतालाई तमू धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरे, रसमोर बरो काउन्सिलका मेयर क्यालोन स्टिवर्ट, सो क्षेत्रका सांसद एलेक्स बेकर, फुटबलर सावित्रा भण्डारी र प्रायोजकहरूद्वारा पुरस्कार वितरण गरिएको थियो।