लण्डन। कलाकार दीपक शर्माको नयाँ टेलिसिरियल “दले दाई” छिट्टै दर्शक सामु आउने भएको छ। निर्देशक तथा लेखक शर्मा अनुसार, सिरियलले देशमा जुनसुकै काम गर्दा पनि दलालको सहारा लिनुपर्ने बाध्यताको कथा प्रस्तुत गर्छ, जसका कारण धेरै नेपालीहरू विदेशिन बाध्य भएका छन्। यिनै पीडादायक अनुभवहरूमा आधारित कथा सिरियलमा देखाइनेछ।
शर्माले बताएअनुसार, टेलिसिरियलको पहिलो चरणको छायांकन कार्य शनिबार सम्पन्न भएको छ र अब दशैंभित्र यूट्युबमार्फत सार्वजनिक गर्ने तयारी भइरहेको छ।
सिरियलमा श्रीप्रसाद थापा, मुकुन्द मैनाली, दीपक शर्मा, विश्वमणि घिमिरे, आशा भुषाल, स्वस्तिका लामिछाने, कैलाश अधिकारी “कैलु”, शिवकुमार महत, ज्ञानेन्द्र अमगाई, सुमन बोहरा, अनुश भण्डारी, शिशिर गौडेल, मिलन शर्मा र राजु खनालले अभिनय गरेका छन्। दले दाई ‘अमलाचौर मिडिया नेटवर्क’ ले निमार्ण गरेको हो ।
यस टेलिसिरियलका निर्देशक, लेखक तथा निर्माता स्वयं दीपक शर्मा हुन् भने निर्देशन सल्लाहकारको भूमिकामा वरिष्ठ कलाकार विश्वमणि घिमिरे रहेका छन्। छायांकन राहुल राईले, श्रृंगार गीताञ्जली योगीले, प्रकाश व्यवस्थापन विष्णु श्रेष्ठले र सम्पादन दिवाकर चौधरीले गरेका छन्। शीर्ष संगीत सरु पौडेलको रहेको छ।
“दले दाई” टेलिसिरियल मार्फत नेपाली समाजमा व्याप्त दलाली प्रथाको यथार्थ चित्रण प्रस्तुत गर्ने प्रयास गरिएको छ।