३० श्रावण २०८२, शुक्रबार
Follow Us

लन्डन मेट्रोपोलिटन प्रहरीका कमाण्डर जुलियन बेनेट बर्खास्त

नेपालब्रिटेन संवाददाता
२० जेष्ठ २०८२, मंगलवार २१:५२

लागुऔषध परीक्षण गर्न अस्वीकार गरेपछि कारवाही

लन्डन — मेट्रोपोलिटन प्रहरीले आफ्ना वरिष्ठ अधिकृत कमाण्डर जुलियन बेनेटलाई दोस्रो पटक सेवाबाट बर्खास्त गरेको छ। उनलाई वि.सं. २०७७ (सन् २०२०) मा गाँजा सेवन गरेको आरोप लागेपछि मूत्र परीक्षण गर्न अस्वीकार गरेकाले गम्भीर अनुशासन उल्लंघनमा पुनः कारवाही गरिएको हो।

बेनेट वि.सं. २०३३ (सन् १९७६) मा प्रहरी सेवामा प्रवेश गरेका थिए र संस्थाको लागुऔषध सम्बन्धी रणनीति निर्माणमा समेत अग्रणी भूमिका खेलेका थिए। उनलाई पहिलो पटक वि.सं. २०८० को असोज (सन् २०२३ को अक्टोबर) मा गम्भीर अनुशासनहीनताको अभियोगमा सेवाबाट हटाइएको थियो। तर, उक्त निर्णय पछि गरिएको पुनरावलोकनमा मुद्दा उल्टाइएको थियो।

यद्यपि, पुनः सञ्चालन गरिएको अनुशासन सुनुवाइमा पनि उनीमाथिको गम्भीर अनुशासन उल्लंघनको आरोप पुष्टि भएको छ।

मेट्रोपोलिटन प्रहरीका सहायक आयुक्त म्याट ट्विस्टले भने, “यो घटना भएको झण्डै पाँच वर्षपछि मात्रै हामीले कमाण्डर बेनेटलाई सेवाबाट हटाउन सक्यौं भन्ने कुराले म अत्यन्त चिन्तित छु।” उनले घटनाले प्रहरीको आन्तरिक अनुशासन प्रक्रिया सुधारको आवश्यकता रहेको पनि बताएका छन्।

धेरै पढिएको