१ असार २०८२, आईतवार
Follow Us

पिटरवरो नेपाली समाज यूकेले पायो काउन्सिल भवन, छिट्टै संचालनमा आउने

नेपालब्रिटेन संवाददाता
२८ जेष्ठ २०८२, बुधबार ०५:२२

पिटरबरो सिटी काउन्सिलसँगको सहमतिको आधारमा एक स्थानिय समूहले स्ट्याफोर्ड हल पुनः सञ्चालन गर्ने रोमाञ्चक योजना सार्वजनिक गरेको छ। समूहको भनाइ अनुसार भवन पहिलेभन्दा झनै उत्कृष्ट बन्नेछ।

पिटरबरो नेपाली समाज (PNS) सँग स्ट्याफोर्ड हलको दीर्घकालीन लिज सम्झौता भएको छ। यो निर्णय काउन्सिलको स्थानीय सम्पत्ति पुनरावलोकन (Localities Assets Review) योजनाको हिस्सा हो, जुन गत वर्ष सुरु गरिएको थियो। यस योजना अन्तर्गत, काउन्सिलले आफ्ना जग्गा, भवन र पूर्वाधारहरूलाई कसरी अझ प्रभावकारी रूपमा सञ्चालन गर्न सकिन्छ भनेर मूल्यांकन गरिरहेको छ।

स्ट्याफोर्ड हल करिब एक वर्षदेखि बन्द रहेको थियो र यसलाई पुनः सञ्चालन गर्नका लागि ठुलो लगानी तथा मर्मत आवश्यक रहेको अधिकारीहरूले पहिचान गरेका थिए। अब लिज सम्झौता भएपछी, नेपाली समाजले आवश्यक सुधार कार्य गर्नेछ र भवन फेरि प्रयोगमा ल्याउनेछ, जसले स्थानिय समाजलाई फाइदा पुर्‍याउनेछ। भवन यस वर्षको अन्त्यसम्म पुनः खोलिने अपेक्षा गरिएको छ।

काउन्सिल सदस्य एलिसन जोन्स (हाउसिङ र कम्युनिटीजका क्याबिनेट सदस्य) ले भनिन्:
“हामी समुदाय, स्वयंसेवी संस्था, धार्मिक समूह र स्थानिय जनतासँग मिलेर हाम्रो सामुदायिक सम्पत्ति स्थानान्तरण रणनीति कार्यान्वयन गर्दैछौं। हाम्रो मुख्य उद्देश्य यस्ता सम्पत्तिहरूलाई दीर्घकालीन रूपमा सञ्चालन योग्य, समावेशी र जीवन्त बनाउनु हो।

यस पटक, हामीले नेपाली समाजसँग मिलेर सहमति गरेका छौं जसअनुसार यो भवन फेरि पुनर्निर्माण भई आम जनताका लागि खुल्नेछ। म विश्वस्त छु कि नयाँ स्ट्याफोर्ड हलले स्थानिय समुदायमा सकारात्मक प्रभाव पार्नेछ। म यो भवन फेरि खुल्ने दिन कुर्दैछु।”

महेश अधिकारी, पिटरबरो नेपाली समाजका ट्रस्टी, ले भने: “हाम्रो समूहको स्ट्याफोर्ड हलसँग सन् २००७ देखि जोडिएको गर्विलो इतिहास छ – यो भवन हाम्रा लागि दोस्रो घरजस्तै थियो! हामीले यहाँ विविध कार्यक्रमहरू आयोजना गथ्र्यौं जसले मानिसहरूलाई जोड्ने, नयाँ सीप सिकाउने र रमाइलो गर्ने अवसर दिन्थ्यो।

हामीले अब यो भवनको लिज पाएका छौं भन्ने खबर दिन पाउँदा म अत्यन्त खुशी छु। यो सम्भव बनाउन सघाएकोमा काउन्सिललाई धन्यवाद दिन चाहन्छु। अहिले हामी २४ घण्टा खटेर भवनको मर्मत गर्दैछौं र यसलाई पहिलेभन्दा अझ उत्कृष्ट बनाउँदैछौं। यो भवन अब हाम्रो कार्यक्रमको स्थल त हुनेछ नै, साथै अन्य कुनै पनि समूहले बुक गर्न सक्ने सामुदायिक केन्द्रको रूपमा पुनः स्थापित हुनेछ।”