काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले विनियोजन विधेयकको पक्षमा मतदान गर्न ह्विप जारी गरेका छन् । कांग्रेसका तर्फबाट प्रमुख सचेतक श्यामकुमार घिमिरे र एमालेका प्रमुख सचेतक महेश बर्तोलाले ह्विप जारी गरेका हुन् ।
कांग्रेस संसदीय दलले प्रतिनिधिसभामा पेश हुने विनियोजन विधेयक, २०८२ मा मतदानको क्रममा आफ्ना सबै सांसदहरूलाई अनिवार्य उपस्थित हुन ह्विप जारी गरेको छ।
असार १० गते (सोमबार) बस्ने प्रतिनिधि सभाको बैठकमा आर्थिक वर्ष २०८२/८३ को बजेट अन्तर्गतको विनियोजन विधेयक निर्णायार्थ प्रस्तुत हुने भएकाले सोही सन्दर्भमा कांग्रेसका प्रमुख सचेतक श्याम कुमार घिमिरेले सांसदहरूलाई उक्त दिनको बैठकमा उपस्थित भई तटस्थ नरहने र विधेयकको पक्षमा मतदान गर्न ह्विप जारी गर्नु भएको हो ।
“बैठकमा अनिवार्य उपस्थित हुन, तटस्थ नरहन र विनियोजन विधेयक २०८२ को पक्षमा मतदान गर्न यो ह्विप जारी गरिन्छ।” प्रमुख सचेतक घिमिरेद्वारा जारी ह्विपमा भनिएको छ ।
यसैगरी, एमाले) ले विनियोजन विधेयक, २०८२/८३ को प्रस्तावको पक्षमा मतदान गर्न संसदीय दलका सम्पूर्ण सदस्यहरूलाई ह्विप जारी गरेको छ ।
एमाले संसदीय दलका मुख्य सचेतक महेशकुमार बर्तौलाद्वारा जारी ह्वीपमा सबै सदस्यहरूलाई अनिवार्य उपस्थित भई प्रस्तावको पक्षमा मतदान गर्न निर्देशन गरिएको छ ।
नेपाल सरकारद्वारा गत जेठ १५ गते सङ्घीय संसद्मा पेस गरिएको आर्थिक वर्ष २०८२/८३ को विनियोजन विधेयक, २०८२ भोलि मङ्गलवार प्रतिनिधिसभाको बैठकमा निर्माणार्थ प्रस्तुत गरिने कार्यसूची रहेको छ ।