काठमाडौं । प्रतिनिधि सभाको उपसभामुख बन्नुभन्दा पहिल्यै इन्दिरा राना मगरको संस्थामा पठाइएका बालबालिकाबारे प्रश्न उठेपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
सत्तारुढ दलले काठमाण्डूस्थित अमेरिकी दूतावासलाई भिसाको मिति माग्दै पत्र लेखेको विषयलाई लिएर उपसभामुख रानालाई हटाउने तयारी गरिरहेका बेला सार्वजनिक भएको विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको हो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) चन्द्रकुवेर खापुङले उपसभामुख मगरको संस्था जोडिएको विषयमा प्रश्न उठेपछि त्यसबारे बुझ्ने काम भईरहेको बताएका छन ।
उनले भनेका छन, ‘सीआईबी मातहतको मानवबेचबिखन अनुसन्धान ब्यूरोले समेत यसबारे अध्ययन गर्न थालेको छ, ‘प्रश्न उठिसकेपछि के रहेछ भनेर जान्नलाई समेत बुझ्ने काम भइरहेको हो ।’ मानवबेचबिखन अनुसन्धान ब्यूरोका एसपी नरेन्द्र कुवँरले पनि आफूहरूले प्रारम्भिक रुपमा बुझ्ने काम थालेको बताउँदै भने, ‘बच्चाहरू कहाँ छन् ?
के भएको हो भन्ने विषयमा जानकारी संकलन गर्न थालिएको हो ।’ ०७७ मा नेपाल बाल संगठनका एक अधिकारी बेलायती नागरिक डोना स्मिथलाई अवैधरुपमा बच्चा दिएको आरोपमा पक्राउ परेका थिए । त्यसपछि नेपाल बाल संगठन र बालमन्दिरमा भएका अनियमितताबारे छानबिन गर्न पूर्वन्यायाधीश हरिबाबु भट्टराईको नेतृत्वमा छानबिन समिति गठन भएको थियो ।