काठमाडौँ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका-२ का वडाध्यक्ष टेकेन्द्र सेन्देंगमाथि कुटपिट भएको छ । एमाले जिल्ला कमिटी सदस्यसमेत रहेको सेन्देंगमाथि जिल्ला कमिटीको बैठकबाट घर फर्कने क्रममा सदरमुकाम नजिकैको तक्मेडाँडामा हातपात गरिएको हो ।
७ जना जतिको समूहको आक्रमणबाट घाइते वडाध्यक्ष सेन्देंगलाई ताप्लेजुङ अस्पतालबाट रेफर गरेर थप उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएको छ । उनीसँगै मोटरसाइकलमा रहेका जिल्ला कमिटी सदस्य मनकुमार लिम्बू जिल्लामै उपचार गरेर घर फर्किएका छन् ।
घटनामा संलग्न आरोपमा प्रहरीले केहीलाई पक्राउ गरे पनि नाम खुलाइएको छैन । एमाले पोलिटब्युरो सदस्य तिलकुमार मेन्याङ्वोले घटनामा संलग्नहरूको किटानी उजुरी दिने तयारी भइरहेको बताए । उनले कुटपिटमा संलग्नहरूका पहिचान भइसकेकाले बताए ।
यसैबीच ताप्लेजुङका प्रतिनिधि सभा सदस्य समेत रहेका एमाले नेता योगेश भट्टराईले घटनामा संलग्नलाई कारबाहीको माग गरेका छन् । गृहमन्त्री रमेश लेखकलाई लिखित पत्र लेख्दै भट्टराईले सर्वसाधारणको शान्ति सुरक्षाको प्रबन्ध मिलाउन आग्रह गरेका छन् ।