२५ असार २०८२, बुधबार
Follow Us

विन्दा पाण्डे र उषाकिरण तिम्सेनामाथिको निलम्बन फुकुवा

नेपालब्रिटेन संवाददाता
११ असार २०८२, बुधबार १४:१५

काठमाडौं । नेकपा (एमाले)ले पार्टी नेतृ बिन्दा पाण्डे र उषाकिरण तिम्सेनामाथि लगाएको निलम्बन फुकुवा गरेको छ ।

आज (बुधबार) बसेको पार्टी सचिवालय बैठकले उनीहरूमाथि यसअघि गरिएको ६ महिनाको जिम्मेवारी खोस्ने निर्णयलाई फिर्ता लिने निर्णय गरेको हो ।

गत वर्ष पुस १० गते पार्टीको केन्द्रीय कार्यालय निर्माणका लागि भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङबाट ‘दान’ लिने निर्णयको आलोचना गर्दै पाण्डे र तिम्सेनाले सार्वजनिक रुपमा असहमति जनाएका थिए ।

सोही कारण देखाउँदै पार्टीले उनीहरूको जिम्मेवारी ६ महिनाका लागि स्थगित गर्ने निर्णय गरेको थियो ।

तर, पछिल्लो समय पार्टीभित्र बढ्दो आलोचना र आन्तरिक असन्तुष्टि नियन्त्रण गर्न नेतृत्वले पुनर्विचार गरेको बुझिएको छ ।

एमाले सचिवालयको बैठकले पाण्डे र तिम्सेनाको निलम्बन फुकुवा गरी उनीहरूलाई पुनः सक्रिय भूमिकामा फर्काउने निर्णय लिएको हो ।

यसैबीच नेतृ पाण्डेले सामाजिक सञ्जालमार्फत निलम्बन फुकुवा भएको पुष्टि गर्दै पार्टीको निर्णयलाई सकारात्मक रूपमा लिने बताएकी छन् ।

धेरै पढिएको