लण्डन । नेपाली कांग्रेसका सहमहामन्त्री उमाकान्त चौधरीले नेपाली जनसम्पर्क समिति बेलायतको सभापति युवराज गुरुङ नै आधिकारिक रहेको स्पष्ट गरेका छन्।
गत आइतबार लण्डनस्थित फेल्थाममा सम्पन्न अन्तरक्रिया कार्यक्रममा बोल्दै चौधरीले समितिको नेतृत्वको विषयमा अनावश्यक विवाद नगर्न सबैलाई आग्रह गरे।
यसअघि नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नेपाली जनसम्पर्क समिति बेलायतको सभापति युवराज सिंह रहेको घोषणा गरेका थिए। तर सहमहामन्त्री चौधरीले कोइरालाको उक्त घोषणा गलत भएको बताए।
चौधरीको सम्मानमा आयोजित उक्त अन्तरक्रिया तथा सम्मान कार्यक्रममा उनले आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई बहुमतमा पुर्याउन देश–विदेशमा रहेका नेपालीहरूसँग सहयोगको आह्वान गरे।
नेपाली जनसम्पर्क समिति बेलायतका सभापति युवराज गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सल्लाहकार सूर्य नेम्बाङ, उपसभापति सुवास राई, महामन्त्री इन्द्रहाङ राई, सहमहामन्त्री सन्तोष कुमार सुवेदी, कार्यसमिति सदस्य भीम राई, विशाल राई, महासमिति सदस्य कुमारी गुरुङलगायतको उपस्थिति थियो।
कार्यक्रममा सभापति गुरुङले नेपाली कांग्रेसको क्रियाशील सदस्यता वितरणको काम भइरहेको जानकारी गराउँदै आगामी दिनमा जनसम्पर्क समितिलाई एकताबद्ध बनाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।