मुम्बई – चर्चित रियालिटी शो बिग बोस १३ की सहभागी तथा अभिनेत्री शेफाली जरीवालाको ४२ वर्षको उमेरमा निधन भएको छ। प्राप्त समाचारअनुसार, उनी जुन २७ तारिख राति हृदयघात (कार्डियाक अरेस्ट) का कारण अचेत भइ अस्पताल पुर्याउँदा मृत घोषित गरिएको थियो।
बेल्भ्यू मल्टिस्पेसलिटी अस्पतालका रिसेप्सनिस्टका अनुसार, शेफालीलाई उनका श्रीमान् तथा तीन जना अन्यको साथमा अस्पताल ल्याइएको थियो। अस्पताल ल्याउँदा उनी अचेत थिइन् र चिकित्सकहरूले उनलाई मृत घोषित गरे। घटनाबारे पुष्टि गर्दै पत्रकार विक्की लालवानीले लेखेका छन्, “शेफालीलाई स्टार बजार अन्धेरीको अगाडि रहेको बेल्भ्यू मल्टिस्पेसलिटी अस्पतालमा ल्याइएको करिब ४५ मिनेट अघि नै उनको मृत्यु भइसकेको थियो। रिसेप्सनिस्टले भनेका छन्, ‘उनी आउँदासम्म नै उनको मृत्यु भइसकेको थियो। उनका श्रीमान् र केही अन्यजना साथमा थिए।’”
अस्पतालको RMO (ड्यूटी मेडिकल अफिसर) सँग थप विवरण सोध्दा, उनले भने, “थप जानकारीका लागि कृपया कार्डियोलोजिस्ट डा. विजय लुल्लासँग कुरा गर्नुहोस्।” पत्रकारहरूले सम्पर्क गर्दा डा. लुल्लाले खबर अस्वीकार नगरे पनि भने, “म कुनै पनि बिरामीको बारेमा विवरण खुलाउन सक्दिनँ।”
उनको अचानक निधनको खबरले टेलिभिजन र मनोरञ्जन क्षेत्रमा शोकको छाया छाएको छ। टीभी कलाकार अली गोनीले सामाजिक सञ्जालमा “RIP” लेख्दै शोक व्यक्त गरेका छन् भने राजिव अदातियाले “यो निकै दुखद छ” भनेका छन्। अभिनेत्री मोनालिसाले “के?” भन्दै आफ्नो स्तब्धता जनाएकी छन्।
शेफालीको निधनले उनका प्रशंसक र मनोरञ्जन जगतमा शोकको लहर फैलिएको छ। परिवारको आधिकारिक बयान र थप विवरणको प्रतीक्षा गरिएको छ।