२५ असार २०८२, बुधबार
Follow Us

एनआरएनए आइसीसीले नेदरल्याण्ड्सको राष्ट्रिय समन्वय परिषद्को मान्यता फिर्ता लियो

नेपालब्रिटेन संवाददाता
१५ असार २०८२, आईतवार १२:५५

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) ले नेदरल्याण्ड्सस्थित आफ्नो राष्ट्रिय समन्वय परिषद् (एनसीसी) लाई दिइएको मान्यता (recognition) फिर्ता लिएको छ।

आइसीसीको १०५औं बैठकले विधान २००३ (२०२२ संशोधनसहित) को दफा १७ को उपदफा १७.७(२) अनुसार यो निर्णय गरेको हो। उपदफा १७.७.२ मा स्पष्ट व्यवस्था छ कि “अन्तर्राष्ट्रिय समन्वय परिषद्का निर्देशनहरू पालना नगरेमा” एनसीसीको मान्यता फिर्ता गर्न सकिन्छ।

आइसीसीका अनुसार नेदरल्याण्ड्सको एनसीसीलाई पटक–पटक निर्देशन दिइएको भए पनि ती निर्देशनहरूको पालना नभएको पाइयो। त्यसैले विधानको कानूनी प्रावधानअनुसार मान्यता खारेज गरिएको आइसीसीले जनाएको छ।

विधानका प्रासंगिक प्रावधान
एनआरएनए विधानको दफा १७ को उपदफा १७.७ ले राष्ट्रिय समन्वय परिषद् गठन गर्ने र विघटन वा मान्यता फिर्ता गर्ने अधिकार आइसीसीलाई दिएको छ। त्यहाँ यस्तो उल्लेख छ:

१७.७.१ – स्थानीय कानूनले वर्जित गरेको हद बाहेक संघको उद्देश्य अनुरूप अघि बढ्न अस्वीकार गरेमा।
१७.७.२ – आइसीसीका निर्देशन पालना नगरेमा।
१७.७.३ – तदर्थ समिति गठन भएको मितिबाट एक वर्षभित्र राष्ट्रिय अधिवेशन गर्न नसकेमा।
१७.७.४ – अनुसूची-८ मा उल्लेखित न्यूनतम मापदण्ड पूरा नगरेमा।

सदस्यता व्यवस्थामा समेत लापरवाही
आइसीसीको सूचनामा भनिएको छ कि एनसीसी नेदरल्याण्ड्सले विधान र नियमावलीअनुसार आवश्यक सदस्य विवरण, सदस्यता शुल्क तथा अभिलेख व्यवस्थापन गर्नुपर्ने कानूनी प्रावधान पनि पालना गरेको देखिएन।

विधानको अनुसूची-८ मा संघले तोकेको मापदण्डअनुसार सदस्यताको विवरण अद्यावधिक गरी पठाउनुपर्ने स्पष्ट व्यवस्था छ। साथै, गैरआवासीय नेपाली संघ राष्ट्रिय महाधिवेशन सञ्चालन तथा एनसीसी सम्बन्धनसम्बन्धी नियमावली २०२१ को निम्न दफाहरू पनि लागू हुन्छन्:

नियम ४(१)(ग): सदस्यता खुला गर्दा शुल्क तोक्ने, सदस्य अभिलेख संघको Membership Information System मा प्रविष्ट गर्ने र शुल्क प्राप्त भएपछि मात्र सदस्यता मान्यता पाउने।

नियम ४(५): उक्त प्रणालीबाट पञ्जिकृत सदस्यता वितरण गर्ने र फेसियल भेरिफिकेशन गर्ने।

तर, आइसीसीका अनुसार नेदरल्याण्ड्सको एनसीसीले यी कानूनी प्रावधानहरू पालना नगरेको पुष्टि भएको छ।

नयाँ जिम्मेवारी तोकिएको कार्यसमिति
मान्यता फिर्ता गर्दै अन्तर्राष्ट्रिय समन्वय परिषद्ले विधानको दफा २४ को उपदफा २४.१ अनुसार नेदरल्याण्ड्समा राष्ट्रिय महाधिवेशन गर्न नयाँ संयोजक मण्डललाई जिम्मेवारी पनि दिएको छ।

विधानको दफा २४(१) ले अन्तर्राष्ट्रिय महाधिवेशन हुने वर्षको जुलाई १ देखि ३१ भित्र सबै एनसीसीहरूले आफ्नो राष्ट्रिय महाधिवेशन अनिवार्य रूपमा सम्पन्न गर्नुपर्ने व्यवस्था गरेको छ। त्यसबाहेक अन्तर्राष्ट्रिय महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूको विवरण अगस्ट ३१ सम्म आइसीसी सचिवालयमा पठाउनुपर्ने छ।

तपसिल अनुसार तोकिएको संयोजक समिति
अहिले एनसीसी नेदरल्याण्ड्समा राष्ट्रिय महाधिवेशन आयोजनाका लागि निम्न पदाधिकारीलाई संयोजक समिति बनाएर जिम्मेवारी दिइएको छ:

संयोजक:

रामचन्द्र पोखरेल (उपाध्यक्ष)

सदस्यहरू:

संघर्षशील के.सी. (उपाध्यक्ष)

अर्चना पाण्डे (उपाध्यक्ष)

पेमा लामा (उपाध्यक्ष)

अम्बिका गिरि (महिला उपाध्यक्ष)

साबित्रि पौडेल (महासचिव)

सन्दीप बिश्वकर्मा (सचिव)

कमल बहादुर बिश्वकर्मा (कोषाध्यक्ष)

सुमन काफ्ले (सह-कोषाध्यक्ष)

सरोज ढकाल (गिरी) (महिला संयोजक)

धन बहादुर बोहोरा (सदस्य)

डम्बर कोइराला (सदस्य)

रामबहादुर पौडेल (सदस्य)

कैलाश गिरी (सदस्य)

भीमभक्त राई (सदस्य)

हिरण्य ओझा (सदस्य)

सुवाससिंह बस्नेत (सदस्य)

धेरै पढिएको