२४ असार २०८२, मंगलवार
Follow Us

यूएईको ‘ग्लोबल एनआरएनए पुरै टिम’ संस्थापनपक्षमा समाहित, एमआईएसमार्फत सदस्यता वितरण गर्ने सहमति

नेपालब्रिटेन संवाददाता
१५ असार २०८२, आईतवार १९:४२

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १०औं महाधिवेशनपछि उत्पन्न विवादका कारण विनोद कुँवर समूहले गठन गरेको “ग्लोबल एनआरएनए युएई” को पूरा कार्यसमिति संघको संस्थापक्ष डा. बद्री केसीको नेतृत्वमा रहेको समितिमा — समाहित भएको छ।

एनआरएनए यूएईका उपाध्यक्ष विष्णुलाल श्रेष्ठ र ग्लोबल एनआरएनए युएईका कार्यबाहक ईश्वर श्रेष्ठको संयुक्त पहलमा मूलधारको एनआरएनएमा फर्केर एमआईएस (मेम्बरशिप इन्फर्मेसन सिस्टम) मार्फत सदस्यता वितरण गर्ने सहमति भएको हो।

यसअघि १० औं महाधिवेशनमा पक्षपात र धाँधली गरेर एकपक्षीय कार्यसमिति बनाएको आरोप लगाउँदै विनोद कुँवर समूहले “ग्लोबल एनआरएनए–युएई” नामक छुट्टै संरचना खडा गरी सामाजिक गतिविधि सञ्चालन गर्दै आएको थियो।

बर्दुबैमा आइतवार आयोजित कार्यक्रममा अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्य एमडि बोहोरा, एनआरएनए राष्ट्रिय समन्वय परिषद् (एनसीसी) यूएईका सल्लाहकार बाबुराम सापकोटा, एनआरएनए मध्यपूर्व युवा संयोजक निरञ्जन सिलवाल तथा वर्तमान कार्यसमितिका उपाध्यक्ष विष्णुलाल श्रेष्ठको विशेष पहलमा उक्त घोषणा गरिएको हो।

सहमति पछि ग्लोबल एनआरएनए युएईका पूर्वअध्यक्ष ईश्वर श्रेष्ठले अब एनआरएनएलाई एक बनाउन आफूले पहिलो कदम चालेको बताए। उनले विश्वभर एउटै एनआरएनएको छवि देख्ने आफ्नो चाहना रहेको उल्लेख गरे।

एनआरएनए राष्ट्रिय समन्वय परिषद् (यूएई) का उपाध्यक्ष विष्णुलाल श्रेष्ठले अब डा. बद्री केसीको अध्यक्षतामा रहेको एनआरएनएमै सबै एकीकृत हुनुको विकल्प नरहेको र यही संस्था नै आधिकारिक भएको प्रष्ट पारे।

कार्यक्रममा एनआरएनए एनसीसी (युएई) का सचिवद्वय सुमन भण्डारी, र नवराज श्रेष्ठ, एनआरएन अभियन्ता नवतारा खरेल, दीपक खनाल, बिनोद न्यौपाने लगायतको सहभागिता थियो। नयाँ सहमति अनुसार “ग्लोबल एनआरएनए युएई” पूर्णरूपमा विघटन भएको छ।

धेरै पढिएको