लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) बेल्जियमको १२औं महाधिवेशन तथा निर्वाचन आगामी जुलाई २७ तारिख आइतवारका दिन हुने भएको छ।
गैरआवासीय नेपाली संघ बेल्जियमको बैठक आइतवार लुभेनस्थित होटल मालोनमा संयोजक लोकेन्द्र नेपालको अध्यक्षतामा बसेको थियो। बैठकले महाधिवेशन तथा निर्वाचन सो मितिमा गर्ने निर्णय गरेको हो।
बैठकले एनआरएनए अन्तर्राष्ट्रिय परिषदको परिपत्र अनुसार अधिवेशन सम्पन्न गर्न लोकेन्द्र नेपालको संयोजकत्वमा समिति गठन गरिएकोमा स्वागत गर्दै आगामी दिनमा एकताबद्ध भएर संघले दिएको जिम्मेवारी जुनसुकै चुनौती सामना गर्दै पूरा गर्ने निर्णय पनि गरेको छ।
त्यसैगरी बैठकले एनआरएनए बेल्जियमको सदस्यता वितरण एनआरएनएको एमआईएस प्रणालीमार्फत जुलाई १४ तारिख राति १२ बजेसम्म गर्ने निर्णय गरेको छ। सदस्यता शुल्क ५ यूरो कायम गरिएको छ।
बैठकले एमआईएस प्रणालीप्रति देखिएको असहमति र संस्था बाहिर रहने तयारीमा रहेका वा अहिलेसम्म आबद्ध हुन छुटेका सबै बेल्जियमवासी नेपालीलाई संस्थाभित्र समेट्दै बृहत् एकता कायम गर्न एमआईएस प्रणालीमार्फत सदस्यता लिन आग्रह गरेको संघकी महासचिव रुविना शर्माले जानकारी दिइन्।