लन्डन। साउथ–इष्ट लन्डनस्थित नेपाली समुदायको साझा संस्था ‘रोयल बरो अफ ग्रीनवीच नेप्लिज सोसाइटी’ (RGNS) का निवर्तमान अध्यक्ष पुण्य रेग्मीले गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको आगामी कार्यकालका लागि महासचिव पदमा उम्मेदवारी दिने तयारी गरेका छन्।
रेग्मी विगतदेखि नै एनआरएनए अभियानमा सक्रिय योगदान दिँदै आएका छन्। उनले संस्थागत विकास, युवा सहभागिता र पारदर्शितालाई मुख्य मूलमन्त्रका रूपमा अघि सार्दै आगामी महाधिवेशनमा सहभागी हुन आफू तयार रहेको बताएका छन्। रेग्मी भन्छन्, “म एनआरएनए अभियानसँग लामो समयदेखि नजिक रहेर काम गर्दै आएको छु। यसबीचमा धेरै कुरा बुझें, सिकें र अनुभव गरें। अहिले त्यो अनुभवलाई जिम्मेवारीमा रूपान्तरण गर्ने समय आएको छ।”
उनका अनुसार हालसम्म विभिन्न क्षेत्रका अग्रज, मित्र, सहकर्मी तथा शुभेच्छुकहरूसँग छलफल र परामर्श भइसकेको छ। उनले भने, “सुझाव, समर्थन र प्रेरणाले नै यो निर्णयमा पुग्न मलाई मद्दत गर्यो। अब म महासचिव पदका लागि आफ्नो उम्मेदवारी छिट्टै प्रेस मिटमार्फत औपचारिक रूपमा घोषणा गर्नेछु।”
रेग्मीको नेतृत्वमा आरजीएनएसले लन्डन क्षेत्रका नेपालीहरूबीच एकता, सामाजिक उत्थान र सांस्कृतिक प्रवर्द्धनका लागि उल्लेखनीय काम गरेको छ। उनले विभिन्न सामाजिक, सांस्कृतिक र शैक्षिक पहलमार्फत लन्डन क्षेत्रको नेपाली समुदायमा सशक्त उपस्थिति जनाउँदै आएका छन्।
उनको उम्मेदवारीले एनआरएनए यूकेको आगामी निर्वाचनमा थप प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्ने देखिन्छ।
पेशाले इन्जिनियर रेग्मी प्रवासी नेपाली मञ्च यूकेको पूर्व सचिव, यति नेपाली एशोसिएसन यूकेको पूर्व कोषाध्यक्ष, सोसाइटी अफ नेपाली प्रोफेसनल्स यूकेको पूर्व अध्यक्ष तथा अन्य विभिन्न संस्थामा समेत सक्रिय रूपमा संलग्न रहिआएका अनुभवी व्यक्तित्व हुन्।
एनआरएनए यूकेको निर्वाचन यही जुलाई २६ मा हुँदै छ। यसै सन्दर्भमा अन्य सम्भावित उम्मेदवारहरूले पनि आ–आफ्नो तयारी तीव्र बनाइरहेका छन्।