लन्डन — लन्डनस्थित नेपाली दूतावासमा शुक्रबार सम्पन्न उच्चस्तरीय नेपाल–यूके टेक फोरमको समापनमा सम्मेलनमा उठेका विषयहरूको अनुगमन गर्न नेपाल–यूके डिजिटल कार्यसमूह गठन गर्ने सहमति भएको छ।
दूतावासका अनुसार उक्त कार्यसमूहमा लन्डन र काठमाडौंस्थित दूतावासहरू, दुवै देशका सरकारी निकायहरू, प्रविधि क्षेत्रका अग्रणी व्यक्तित्वहरू तथा अन्य सरोकारवाला निकायहरूको प्रतिनिधित्व रहनेछ। कार्यसमूहले छिट्टै आफ्नो काम अघि बढाउने दूतावासले जनाएको छ।
फोरममा बेलायती संसदको ‘अल नेपाल पार्लियामेन्टरी ग्रुप’ की अध्यक्ष सांसद एलेक्स बेकरले काठमाडौँ–लन्डन सिधा हवाई सेवा सुरु गर्न आवश्यक रहेको धारणा राखिन्। उनले सरकार तथा जनस्तर दुवै तहमा नेपाल–बेलायत सम्बन्ध थप सुदृढ पार्नुपर्नेमा जोड दिइन्।
बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेले नेपाल अहिले ऊर्जा निर्यात गर्ने देश बनेको र प्रविधि क्षेत्र निकै चलायमान रहेको बताए। उनले नेपाललाई बेलायतका लागि व्यापार र लगानीको उत्कृष्ट गन्तव्यका रूपमा प्रस्तुत गर्दै बेलायती कम्पनीहरूलाई नेपालमा आईटी सेवा आउटसोर्स गर्न आग्रह गरे।
नेपालका लागि बेलायतका राजदूत रब फेनले गोर्खा सैनिक, लोकतन्त्रप्रतिको आस्था, कानूनको शासन र जनस्तरको गहिरो सम्बन्धले दुई देशबीचको सम्बन्ध विशिष्ट बनाएको बताए। उनले अहिलेको समय ब्रिटिश लगानी भित्र्याउन र द्विपक्षीय व्यापार वृद्धि गर्न उपयुक्त रहेको उल्लेख गर्दै नेपाल–युकेबीच दोहोरो कर उन्मुक्ति सम्झौताको तयारी भइरहेको जानकारी दिए।
लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले ऊर्जा, सूचना तथा सञ्चार प्रविधि र पूर्वाधार विकासलाई नेपालको सरकारको प्राथमिकता रहेको बताए। उनले सूचना प्रविधिमा १०० प्रतिशत प्रत्यक्ष विदेशी लगानी अनुमति, सात वर्षसम्मको कर छुट र मुनाफा फिर्ता लैजान सकिने सुविधा रहेको जानकारी दिए। साथै, सातै प्रदेशमा आईटी पार्क निर्माण र प्रधानमन्त्रीको अध्यक्षतामा आईटी प्रवर्द्धन बोर्ड स्थापना गर्ने योजना रहेको पनि उनले बताए।
डोल्मा इम्प्याक्ट फन्डका संस्थापक टिम गोचरले कृत्रिम बुद्धिमत्ता र डेटा सेन्टरमार्फत नेपालको उत्पादनशीलता बढाउने अपार सम्भावना रहेको बताए। उनले हिमाली भेगको चिसो मौसम, स्वच्छ ऊर्जा र डिजिटल जनशक्तिलाई प्रयोग गरी विश्वस्तरीय डेटा सेन्टरहरू निर्माण गर्न सकिने धारणा राखे।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालको निजी क्षेत्र नवप्रवर्तन तथा रूपान्तरणमा नेतृत्वदायी भूमिका खेल्न तयार रहेको बताए। उनले आगामी १० वर्षसम्म नीतिगत स्थिरता कायम गर्नुपर्नेमा जोड दिँदै नेपालले सूचना प्रविधि तथा डिजिटल सेवामा विश्वस्तरीय प्रतिस्पर्धा गर्न सक्ने क्षमता राखेको बताए। “हामी संयुक्त लगानी उद्यम, ई–शासन र अन्य साझेदारीका लागि खुला छौं। डिजिटल भविष्य निर्माणमा हामी तपाईंलाई सहकार्य गर्न आमन्त्रण गर्छौं,” उनले भने।
बेलायतमा मुख्यालय रहेको सूचना प्रविधि कम्पनी जेनेस सलुशनका प्रमुख कार्यकारी अधिकृत अञ्जनी फुयाँलले नेपालको युवा जनशक्तिले विश्व बजारमा गुणस्तरीय सेवा दिइरहेको भन्दै बेलायती कम्पनीहरूलाई नेपालमा लगानी गर्न आग्रह गरे।
नास आइटीका अध्यक्ष सन्तोष कोइरालाले हाल झन्डै ९०,००० युवा सूचना प्रविधि क्षेत्रमा कार्यरत रहेको जानकारी दिए। “अहिले हाम्रो कुल आईटी निर्यातको ७५ प्रतिशतभन्दा बढी अमेरिका जान्छ। अबको ४–५ वर्षमा हामी ब्रिटेनमा पनि बजार विस्तार गर्न चाहन्छौं,” उनले भने।
बेलायतमा कार्यरत उद्यमी र UKA Beer की सीईओ तथा सह–संस्थापक रुबी राउतले प्रविधि क्षेत्रमा महिलालाई अगाडि ल्याउन आवश्यक रहेको बताउँदै साना तथा मझौला उद्यमीहरूलाई अल्पकालीन तालिम र मेन्टरिङ्गको आवश्यकता औंल्याइन्।
आईएमई ग्रुपका सह–संस्थापक तथा प्रबन्ध निर्देशक हेमराज ढकालले नेपाल डिजिटल रूपान्तरणका लागि तयार रहेको बताए। ब्रिटेन–नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष डा कपिल रिजालले दुई देशबीच व्यापार तथा लगानी बढाउन प्रशस्त सम्भावना रहेको बताए।
कार्यक्रममा यूकेमा मुख्यालय रहेका प्राइभेट इक्विटी, फिनटेक, एआइ, क्लाउड, साइबर सुरक्षा, एजु–टेक, हेल्थ–टेक लगायत क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको दूतावासले जनाएको छ।