काठमाडौं । ‘हामी नेपाल’ अभियानका संस्थापक सुदन गुरुङले आफ्नो संगठनलाई विदेशी शक्ति र ‘फ्री तिब्बत’ आन्दोलनसँग जोडेर बदनाम गर्ने नियोजित प्रयास भइरहेको भन्दै गम्भीर आपत्ति जनाएका छन् । सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको एक भिडिओमा गुरुङले यस्ता आरोपहरू निराधार रहेको र यसमा संलग्न ‘साइबर सेना’ विरुद्ध कानुनी कारबाही गर्ने चेतावनी दिएका हुन् ।
जेन-जी आन्दोलनका क्रममा केही युवाले लगाएको कालो टिसर्टमा ‘टीओबी’ लेखिएको फोटो भाइरल भएपछि ‘हामी नेपाल’ अभियानलाई ‘टिबेटन ओरिजिन ब्रदरहुड’ र ‘फ्री तिब्बत’ आन्दोलनसँग जोडेर टिप्पणी गरिएको थियो । यस विषयमा प्रष्ट पार्दै गुरुङले यी आरोपहरूलाई अस्वीकार गरे । उनले आफ्नो अभियानमा कुनै पनि विदेशी शक्ति, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आइएनजीओ) वा राजनीतिक समूहको संलग्नता नरहेको दाबी गरेका छन् ।
गुरुङले ‘हामी नेपाल’ एक गैरनाफामुखी संस्था (एनपीओ) भएको र यसले नगदभन्दा पनि जिन्सी सहयोगलाई प्राथमिकता दिने गरेको बताएका छन् । ‘हामीलाई एनजीओ प्रणाली मन परेन, त्यसैले एनपीओ नाम राख्यौं,’ उनले प्रष्ट्याउँदै आफ्नो संगठनको वित्तीय पारदर्शीताबारे चुनौती दिएका छन् ।
उनले आरोप लगाउनेहरूलाई आफू कुनै भिडिओमा त्यस्ता गतिविधिमा संलग्न रहेको वा विदेशी आइएनजीओ तथा युएसएआइडीबाट एक रुपैयाँ पनि लिएको प्रमाणित गर्न चुनौती दिए । गुरुङका अनुसार ‘हामी नेपाल’ ले हरेक पैसाको हिसाबकिताब राखेको छ र कुन व्यक्तिलाई कुन ठाउँमा कति पैसा गयो भन्ने जानकारीसहित फोन नम्बरसम्म उपलब्ध गराउन तयार छन् । उनले निकट भविष्यमा सबै वित्तीय विवरण सार्वजनिक गर्ने र अहिले वेबसाइट ‘अन्डर कन्स्ट्रक्सन’ मा रहेको बताए । वेबसाइट पूर्ण भएपछि बिलसहित सबै विवरण अपलोड गरिने उनको भनाइ छ ।
गुरुङले आफ्नो संगठनले विपद्को समयमा सधैँ जिन्सी सहयोगलाई प्रोत्साहन गर्ने गरेको र नगद सहयोग आवश्यक परेमा मात्र क्युआर कोडमार्फत लिने गरेको उल्लेख गरे । उनले आफूले करोडौं रुपैयाँ मागेको कुनै भिडिओ देखाउन चुनौती दिए ।
गुरुङले ‘साइबर सेना’ द्वारा फैलाइएका झुटा समाचार र अभियानमा घुसपैठ गर्नेहरूविरुद्ध प्रहरीमा उजुरी हाल्ने बताएका छन् । उनले देशमा सुशासन कायम गर्न र भ्रष्टाचारविरुद्ध लड्न सबैलाई एकताबद्ध हुन आह्वान गर्दै यो ‘अन्तिम लडाइँ’ मा सबैको साथ चाहिएको बताए ।