काठमाडौं । नेपालको वैकल्पिक राजनीतिको अग्रणी शक्ति विवेकशील साझा पार्टीले मुलुकमा बढ्दो राजनीतिक विचलन, भ्रष्टाचार र कुशासनको अन्त्य गर्दै समतामूलक समृद्ध नेपाल निर्माणका लागि निर्णायक कदम चाल्ने उद्घोष गरेको छ ।
पार्टीले भर्खरै सम्पन्न ‘जेनजी विद्रोह’ मा युवा पुस्ताले देखाएको साहस र बलिदानको उच्च कदर गर्दै, आगामी आम निर्वाचनलाई मध्यनजर गरी ‘जेनजी पुस्ता’, वैकल्पिक राजनीतिक शक्तिहरू र परिवर्तनका पक्षधर सबै समूह तथा अभियन्ताहरूसँग बृहत्तर एकताका लागि खुला आह्वान गरेको छ । पार्टीले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘भाद्रमा भएको ‘जेनजी विद्रोह’ लाई विवेकशील साझा पार्टीले पूर्ण ऐक्यबद्धता जनाउँदै, युवाहरूको सहादतको जगमा बनेको नागरिक सरकारलाई स्वागत र सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिसकेको छ ।’
विवेकशील साझा पार्टीले दशकभन्दा लामो समयदेखि भ्रष्टाचारविरुद्ध सशक्त अभियान चलाउँदै आएको छ । सुसंस्कृत राजनीतिको अभ्यास र हरेक क्षेत्रमा युवाहरूको प्रभावकारी प्रतिनिधित्वलाई आत्मसात् गर्दै पार्टीले नेपालमा वैकल्पिक राजनीतिको जग खनेर राजनीतिको भाष्य नै परिवर्तन गर्न सफल भएको दाबी गरेको । अहिलेको विषम राजनीतिक परिस्थितिबाट मुलुकलाई निकास दिन वैकल्पिक राजनीतिक शक्ति, ‘जेनजी पुस्ता’ र परिवर्तनकारी सबै शक्ति, अभियान, समूह र अभियन्ताहरूको बृहत्तर एकता र मोर्चाबन्दीलाई विशेष जोड दिइएको छ ।
‘जेनजी पुस्ता’ को विद्रोह र सहादतको जगमा हुन लागेको आम निर्वाचनलाई दृष्टिगत गर्दै विवेकशील साझा पार्टीले भ्रष्टाचार र कुशासनविरुद्ध समतामूलक समृद्ध नेपाल निर्माणका लागि वैकल्पिक राजनीतिक शक्ति, नयाँ दल, ‘जेनजी आन्दोलन’ का अभियन्ता एवं समूह तथा सार्वजनिक परिचय बनाएका व्यक्तिहरूसँग सहकार्य, ध्रुवीकरण, कार्यगत एकता र बृहत्तर एकीकरणसम्मका लागि सबै ढोकाहरू खुला गरेको छ । पार्टीले सबै प्रकारका खुला छलफल, बहस र बृहत्तर नयाँ शक्ति निर्माण गरेर अघि बढ्न सरोकारवाला सम्पूर्णमा सार्वजनिक आह्वान गरेको छ ।
विवेकशील साझा पार्टीले आफ्नो एक दशकभन्दा बढीको राजनीतिक लिगेसी, सुसंस्कृत राजनीतिक पुँजी, र नयाँ राजनीतिक संस्कार फैलाउन गरेको सत्प्रयासहरूलाई नेपाली जनता र नेपाल राष्ट्रको बृहत् हितलाई केन्द्रमा राखेर वैचारिक प्रष्टता र मूल्यमान्यताको जगमा दलीय पदसोपानलाई समतल बनाउने प्रस्ताव गरेको छ । यसका लागि पार्टीको नाम, चुनाव चिह्न समेत परिवर्तन गर्दै पार्टी पुनर्गठन गरेर अघि बढ्न खुला रहेको आह्वान गरेको छ । यो कदमले पार्टीले नयाँ स्वरूप र ऊर्जाका साथ अघि बढ्न चाहेको स्पष्ट सन्देश दिएको छ ।