२४ असार २०८२, मंगलवार
Follow Us

मनीष खत्रीद्धारा एनआरएनए यूके अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा

नेपालब्रिटेन संवाददाता
२२ असार २०८२, आईतवार ०६:१७

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेका उपाध्यक्ष मनीष खत्रीले आगामी कार्यकाल (२०२५–२७) का लागि अध्यक्ष पदमा उम्मेदवारी दिने औपचारिक घोषणा गरेका छन्।

खत्रीले सामाजिक सञ्जालमार्फत आफ्नो उम्मेदवारी सार्वजनिक गर्दै लेखेका छन्, “समुदाय, भाषा, संस्कृति र भविष्यका पुस्ताका लागि गरिरहेको लामो यात्रामा तपाईंहरूको साथ, विश्वास र प्रेरणाले आज मलाई यो जिम्मेवारी लिन उत्प्रेरित गरिरहेको छ। अब नेतृत्वको तहमा पुगेर अझ ठोस काम गर्ने समय आएको छ।”

हाल उपाध्यक्षको जिम्मेवारी सम्हालिरहेका खत्री एनआरएनए अभियानमा कुनै नयाँ अनुहार होइनन्। उनी यसअघि एनआरएनए स्कटल्याण्ड राज्य समन्वय परिषदका उपाध्यक्ष र सचिव, साथै एडिनबरा नेपीएर विश्वविद्यालयका अध्यक्ष समेत भइसकेका छन्।

उनको नेतृत्वमा सञ्चालित “Post Study Work Visa Now” अभियान ऐतिहासिक रूपमा सफल भएको थियो। उक्त अभियानको परिणामस्वरूप बेलायतमा अध्ययनपश्चात दिइने भिसा ६ महिनाबाट बढाएर २ वर्ष पुर्‍याइएको थियो, जसले हजारौं अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई प्रत्यक्ष लाभ पुर्‍याएको थियो।

खत्रीले युवा नेतृत्व, समावेशी सोच र प्रविधिमैत्री कार्यशैलीलाई आफ्नो प्रमुख एजेन्डा बनाउने बताएका छन्। उनका शब्दमा, “एनआरएनए जस्तो संस्था आजको युगमा गतिशील, जवाफदेही र प्रभावकारी हुन आवश्यक छ। त्यो सम्भव छ भने युवाको प्रतिनिधित्व र स्पष्ट दृष्टिकोणबाट मात्रै।”

उनले एनआरएनए यूकेमा एकता, वंशजहरूको नेपाली नागरिकताको निरन्तरता, समुदायप्रति जवाफदेहिता, र मातृभूमिको समृद्धिमा प्रवासको योगदानलाई आगामी कार्यकालका मुख्य उद्देश्य बनाउने बताएका छन्।
यसअघि अध्यक्षमा राजेन्द्र पुडासैनी र गोविन्द खरेलले उम्मेदवारी दिने घोषणा गरेका थिए ।

एनआरएनए यूकेको निर्वाचन आगामी जुलाई २६, २०२५ मा अनलाइन माध्यमबाट हुने तय भएको छ। उम्मेदवारी दर्ता जुलाई १३ तारिख बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ।

धेरै पढिएको