क्लबलाई तेस्रो पटक उपाधि नेपाली जनसम्पर्क समिति डेनमार्कले नेपालीभाषी युवाहरूबीच देशव्यापी फुटबल प्रतियोगिता सम्पन्न गरेको छ । झन्डै चारहजार नेपाली बसोबास गर्ने डेनमार्कको राजधानी कोपेनहेगनको उत्तरपश्चिम क्षेत्रमा आयोजित उक्त प्रतियोगितामा नेपाली र भूटानी मूलका नेपाली युवाहरू सम्मिलित आठ वटा क्लबले सहभागिता जनाएका थिए । भोलिबाट कोपेनहेगनमैं सुरु हुने एनआरएन युरोपको क्षेत्रीय भेलामा सहभागी हुन आएका सयौ प्रतिनिधिसमेत आजको फुटबल हेर्न जम्मा भएका थिए । एनआरएन केन्द्र र युरोपका अधिकांश पदाधिकारीले चाखपूर्वक फुटबल खेल अवलोकन गरे । खेलको अन्त्यमा पुरस्कार वितरण समारोहको सभापतित्व जनसम्पर्क समिति डेनमार्कका अध्यक्ष नवीन आचार्यले गरेका थिए भने एनआरएन अध्यक्ष शेष घलेले विजयी खेलाड़ीलाई प्रमाणपत्र र मेडल प्रदान गरे । कोपेनहेगनका स्थानीय सांसद पनि कार्यक्रममा सहभागी थिए । एनआरएनका दुबै उपाध्यक्ष भवन भट्ट र कुमार पन्त, महासचिब बद्री केसी, एनआरएन युरोप संयोजक कुल आचार्य, महिला संयोजक सपिला राजभण्डारी, एनआरएन सचिब अर्जुन श्रेष्ठ, एनआरएन युरोपका राष्ट्रिय समितिका धेरैजसो अध्यक्ष र पदाधिकारी मैदानमा उपस्थित थिए । उद्योग वाणिज्य संघ नेपालका अध्यक्ष पशुपति मुरारका र उद्योगी चन्द्र ढकालको पनि उक्त कार्यक्रममा उपस्थिति थियो । जनसम्पर्क समिति डेनमार्कले भूकम्पपीड़ित नेपालीको उद्धार र राहत कार्यमा समेत उल्लेख्य योगदान गरेको थियो ।