३१ असार २०८२, मंगलवार
Follow Us

२१२औं भानु जयन्ती बेलायतको मिडल्याण्डमा भव्य रूपमा सम्पन्न

नेपालब्रिटेन संवाददाता
३० असार २०८२, सोमबार २१:००

रमेश खनाल, कोभेन्ट्री — नेपाली भाषा र साहित्यप्रेमीहरूको गौरव पर्व २१२औं भानु जयन्ती बेलायतको मिडल्याण्ड क्षेत्रमा, कोभेन्ट्री शहरमा भव्य र गरिमामय वातावरणमा सम्पन्न भएको छ।

आदिकवि भानुभक्त आचार्य नेपाली साहित्यका आधारस्तम्भ मानिन्छन्। संस्कृतमा सीमित रामायणलाई आम नेपाली भाषामा अनुवाद गरी उहाँले नेपाली साहित्यमा क्रान्तिकारी योगदान पुर्‍याउनुभएको थियो। उहाँका सरल र भावनात्मक काव्यहरूले नेपाली भाषा र संस्कृतिको जग बसाउन ऐतिहासिक भूमिका खेलेका छन्। त्यस योगदानको सम्झनामा यो जयन्ती प्रत्येक वर्ष श्रद्धापूर्वक मनाइन्छ।

मिति २०८२ असार २९ गते (१३ जुलाई २०२५) आयोजित यस कार्यक्रम विश्व नेपाली साहित्य महासंघ मिडल्याण्ड शाखाको सक्रिय पहलमा सम्पन्न भएको थियो। कार्यक्रममा महासंघका अध्यक्ष आदरणीय भरतकुमार श्रेष्ठ ‘बिवश’को अध्यक्षता रहेको थियो।

नेपालबाट बेलायत भ्रमणमा रहनुभएका चर्चित साहित्यकार राजेन्द्रकुमार संग्रौला प्रमुख अतिथि हुनुहुन्थ्यो। कार्यक्रमको सञ्चालन महासंघका उप–सचिव तथा साहित्य अनुरागी ललित परियारले गर्नुभयो। शुभकामना मन्तव्य महासंघकी सदस्य कला पोखरेलले प्रस्तुत गर्नुभयो।

महासंघका सचिव डा. प्रदीप लामिछानेले आदिकवि भानुभक्त आचार्यको जीवन, कृति र नेपाली भाषामा पारेको प्रभावमाथि गहिरो विश्लेषणात्मक प्रस्तुति दिनुभयो।

त्यस्तै, कोभेन्ट्री नेपाली समाजका संस्थापक अध्यक्ष सन्तोष पौडेल, संस्कृत अध्येता विष्णुप्रसाद सापकोटा र शिक्षिका ज्ञानु दाखलले भानु जयन्तीको ऐतिहासिक, भाषिक र सांस्कृतिक पक्ष उजागर गर्नुभयो।

साहित्यकार डा. टिकाराम भण्डारीले आफ्ना गहिरा गजल वाचन गरी श्रोतालाई मन्त्रमुग्ध पार्नुभयो। महासंघका केन्द्रीय उपाध्यक्ष विजय हितानले “मलाइ आर्यघाट लिएर नजाला” शीर्षक कविता संग्रहको समीक्षा गर्दा उपस्थित सबै भावुक बने।

अलिना शङ्ग्रौला र सीता पौडेलले छन्दबद्ध श्लोक वाचन गरे भने किरण बेलबासे, मनोज आचार्य र महासंघकी कोषाध्यक्ष कल्पना दाहालले कविता वाचनमार्फत कार्यक्रममा भावनात्मक र सौन्दर्यात्मक गहिराइ थपे।

कार्यक्रममा प्रमुख अतिथि संग्रौलाले आफ्नै कृति सहित अन्य लेखकका ९ वटा पुस्तकहरू विश्व नेपाली साहित्य महासंघ र कोभेन्ट्री सेंट्रल लाइब्रेरीलाई उपहारस्वरूप हस्तान्तरण गर्नुभयो। साहित्यिक समुदायले उक्त योगदानको खुलेर प्रशंसा गर्दै उहाँलाई तालिवद्ध सम्मान प्रकट गरेका थिए।

अन्त्यमा, अध्यक्ष भरतकुमार श्रेष्ठ ‘बिवश’ले प्रवासमा नेपाली भाषा र साहित्यको महत्व, भानु जयन्तीको सांस्कृतिक गाम्भीर्य र विश्व नेपाली साहित्य महासंघको भूमिकाबारे प्रकाश पार्दै सबै सहभागीप्रति आभार व्यक्त गर्नुभयो। त्यससँगै कार्यक्रमको औपचारिक समापन घोषणा गरियो।

धेरै पढिएको