८ श्रावण २०८२, बिहीबार
Follow Us

म माझकिरातकी छोरी हुँ, खुट्टा कमाउँदिनँ, सक्रिय राजनीतिमा अघि बढेँः विद्या भण्डारी

नेपालब्रिटेन संवाददाता
६ श्रावण २०८२, मंगलवार १३:५५

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू एमालेको सक्रिय राजनीतिमा अघि बढिसकेको र माझकिरातकी छोरी भएकोले खुट्टा नकमाउने तर्क गरेकी छन । पूर्वराष्ट्रपतिलाई पार्टी राजनीतिमा ल्याउन हुन्छ कि हुँदैन भनेर एमालेको केन्द्रीय कमिटीमा घनघोर छलफल भइरहेका बेला मंगलबार दिउँसो पत्रकारहरूलाई भंगालस्थित निवासमा बोलाएर पूर्वराष्ट्रपति भण्डारीले यसबारे प्रष्ट परेकी हुन ।

पूर्व राष्ट्रपति भनिन्, म राजनीतिमा अघि बढेँ, माझकिरातको छोरी हुँ, खुट्टा कमाउँदिनँ। उनले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीलाई साउन ४ गते भेटेको प्रसंगबाट कुराकानी सुरू गरेकी थिइन् । त्यसअघि उनले नयाँ वर्षका अवसरमा आफूले शुभकामना सन्देश दिएको र त्यसले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली चिढिएकोसमेत बताइन् ।

‘म राष्ट्रपति भइरहेका बेला पनि ओलीजीसँग कुराकानी हुँदा म सक्रिय राजनीतिमा फर्कने हो भनेर भन्थेँ, यो कुरा ओलीजीलाई राम्रोसँग थाहा थियो, उहाँले त्यसबेला भइहाल्छ भन्ने खालका कुरा गर्नुहुन्थ्यो तर गम्भीर वार्तालाभ भने त्यो विषयमा भएको थिएन,’ उनले भनिन् । अहिले आफू सक्रिय राजनीतिमा फर्केपछि पूर्वराष्ट्रपति पार्टी राजनीतिमा फर्कन हुन्न भनेर अध्यक्ष ओलीले अभिव्यक्ति दिने र नेताहरूलाई ‘नबोल्न’ आग्रह गरिरहेको सुनिएको उनले बताइन् ।

उनले भनिन्, ‘म राष्ट्रपति हुँदा नै सक्रिय राजनीतिमा आउने भन्थेँ, राष्ट्रपतिबाट हटेपछि भाइहरू (एमालेका नेताहरू) घरमा आउने र तपाईं अघि बढ्नुपर्छ भनिरहेका थिए, म पनि सक्रिय राजनीतिमा फर्कने जोखना हेरिरहेको थिएँ,’ भण्डारीले भनिन्, ‘नयाँ वर्षमा शुभकामना दिएँ, त्यसले ओलीजी चिढिनुभयो, त्यसपछि असार १४ गते मदन भण्डारीको जन्मजयन्तीको अवसरमा मैले सक्रिय राजनीतिमा फर्कने घोषणा गरेकी हुँ ।’ उनले २०८० सालमै एमालेको सदस्यता नवीकरण गरेको पनि बताइन् ।

२०७२ देखि २०८० सम्मको दस्तुर तिरेर आफूले एमालेको सदस्यता नवीकरण गरेको उनको दाबी थियो। ‘राष्ट्रपतिबाट हटेको ६ महिनाभित्रै मैले एमालेको सदस्यता नवीकरण गरेको थिएँ, त्यसबेला खासै बहसको विषय बनेन। सदस्यता नवीकरण गरेकोले म सक्रिय राजनीतिमा फर्कनु सामान्य विषय हो,’ उनले भनिन्।

धेरै पढिएको