लन्डन — नेपाल पत्रकार महासंघ (एफएनजे) यूकेको १४औं स्थापना दिवस तथा वार्षिकोत्सव अल्डरसटस्थित एम्पायर हलमा सम्पन्न भएको छ। महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्मा र बेलायतस्थित नेपाली राजदूत चन्द्र घिमिरेले कार्यक्रमको औपचारिक उद्घाटन गरेका थिए।
तर, कार्यक्रममा संगठनभित्र देखिएको विवाद, केही समूहको बहिष्कार र न्यून सहभागिताले छाया पारेको थियो। विशेषतः, संस्थाका अधिकांश संस्थापक सदस्य, पूर्वअध्यक्षहरू तथा असन्तुष्ट धारका पत्रकारहरू अनुपस्थित रहे।
नेपाल प्रेस युनियन यूके शाखाले संस्थाभित्र विगत अधिवेशनदेखि जारी विवादको समाधान नगरी कार्यक्रम एकपक्षीय रूपमा गरिएको आरोप लगाउँदै कार्यक्रम बहिष्कार गरेको थियो। युनियनका अध्यक्ष बिपिन निरौलाले एक विज्ञप्ति जारी गर्दै, संस्थामा देखिएको गम्भीर मतभेद समाधान गर्न गठित वरिष्ठ पत्रकार भगिरथ योगीको संयोजकत्वको समितिले काम अगाडि बढाइरहेका बेला यस्तो कार्यक्रम आयोजना गर्नु दुर्भाग्यपूर्ण भएको टिप्पणी गरेका थिए।
अधिवेशन तयारी समितिका संयोजक दिनेश परियारले नेपालब्रिटेन डट कमसँग कुरा गर्दै भने, “संस्थामा एकता कायम गर्न हामीले प्रयास गर्यौं। तर केही समूह शक्ति प्रदर्शनतिर अग्रसर भए। संस्थागत प्रक्रियामा देखिएका त्रुटिहरू सच्याएर अघि बढ्ने चाहना हुँदाहुँदै पनि सबैलाई समेट्ने प्रयास सफल भएन।”
उनले थपे, “केन्द्रीय नेतृत्वबाट पनि एकताको पक्षमा स्पष्ट पहल देखिएन। यस्तो परिस्थितिमा सबैले सहमति जनाउने वातावरण बन्न सकेन। तर आगामी दिनमा संस्थागत एकता स्थापित भएमा हामी थप कार्यक्रममा सहभागी हुनेछौं।”
कार्यक्रममा सहभागी एक पत्रकारका अनुसार, यस पटकको साधारणसभामा अघिल्ला कार्यक्रमहरूभन्दा निकै न्यून उपस्थिति देखिएको थियो। शाखाका अधिकांश पदाधिकारी र सदस्यहरू अनुपस्थित थिए भने, केही विशिष्ट अतिथिहरू पनि कार्यक्रमको मध्यमा नै प्रस्थान गरेका थिए।
यद्यपि, शाखाको वार्षिक साधारण सभाले संस्थागत तथा आर्थिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको जनाएको छ।
सो अवसरमा वरिष्ठ पत्रकार खगेन्द्र नेपालीलाई “एफएनजे यूके पत्रकारिता सम्मान” प्रदान गरिएको थियो।
कार्यक्रममा गैरआवासीय नेपाली संघ यूकेका अध्यक्ष राजेन्द्र पुडासैनीलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।