कैलाली । हिंसात्मक झडपको घटनापछि कैलाली कारागारका जेलर फेरिएका छन् । जेलर वसन्त खत्रीको ठाउँमा शनिबार राित जालन्धर भुसाललाई पठाइएको गृह मन्त्रालयले जनाएको छ । शुक्रबार राति कारागारमा झडप हुँदा धनगढी–४ का भरत चौधरीको मृत्यु भएको थियो भने ४७ जना घाइते भएका थिए ।
एक जना गम्भीर घाइतेलाई उपचारका लागि काठमाडौं ल्याइएको छ । गम्भीर घाइतेमध्येका आयुष भट्टलाई थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं ल्याइएको हो । झडपपछि दिनभर कारागाराको अवस्था असामान्य बनेको थियो ।
कारागारभित्र रहेका कैदीहरूले केहीबेर कारागार नै नियन्त्रणमा लिएपछि अवस्था तनावपुर्ण भएको थियो । घटनाको छानविनका लागि प्रशासनले सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति पनि गठन गरेको छ ।
समितिले घटनाको कारण पत्ता लगाएर १० दिनभित्र प्रतिवेदन दिनुपर्ने समयसीमा दिइएको छ । सुरक्षा निकायका प्रमुखसँग गृहमन्त्री रशेम लेखकले पनि सुरक्षा निकायका प्रमुखसँग छलफल गरेका छन् । कारागारमा रहेका दुई ब्लकमध्ये ‘ए’ ब्लकका कैदीबन्दीले ‘बी’ ब्लकमा गएर अन्धाधुन्ध आक्रमण गरेपछि झडप भएको बताइएको छ ।
मृतक भरत लागूऔषध मुद्दामा गत माघमा पक्राउ परेका थिए । विजयले घटनाको छानबिन नहुँदासम्म शव नउठाउने अडान लिएका छन । शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । ३६ जनाको अवस्था मध्यम र ९ जना सामान्य रहेको छ ।
१ सय ५० जना क्षमताको कैलाली कारागारमा हाल ६ सय ९५ कैदीबन्दी छन् । तीमध्ये ५८ महिला र अरू सबै पुरुष हुन् ।