काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली सेना परिचालन गर्ने स्वीकृति प्रदान गरेसँगै उक्त निर्णय कार्यान्वयन हुने भएको छ ।
सेना परिचालनको स्वीकृतिसँगै तीन चरणमा सेनालाई परिचालन गर्न लागिएको छ । मन्त्रिपरिषद्ले मंसिर ८ मा गरेको निर्णय, सिफारिसको आधारमा बिहीबार राष्ट्रपति पौडेलले सेना परिचालन गर्ने स्वीकृति दिएका थिए ।
प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार जङ्गी अड्डाको निरीक्षण गर्दै चुनावमा एक थोपा पनि रगत नबग्ने गरी परिचालित हुन निर्देशन दिएकी छन् । जङ्गी अड्डामा पुगेर कार्कीले भनिन्, ‘सुरक्षा संवेदनशीलताका आधारमा सबै सुरक्षा निकायसँग समन्वय गरेर त्रुटिरहित ढङ्गले काम गर्न निर्देशन दिन्छु ।’
सेनाले सुरक्षा चुनौती र आगामी योजनाबारे प्रधानमन्त्रीलाई ब्रिफिङ गरेको छ । निर्वाचन सुरक्षामा सेना परिचालनको ढाँचाबारे पनि प्रस्तुतीकरण गरिएको छ ।
मन्त्रिपरिषद्को निर्णय सिफारिसको आधारमा तिन चरणमा सेना परिचालन गरिँदै छ । तीन चरणमा सेना परिचालन हुने सैनिक प्रवक्ता (सहायकरथी) राजाराम बस्नेतले जानकारी दिएका छन ।