काठमाडौं । सगरमाथा सहितका हिमाल आरोहण गर्न नया शुल्क लागू हुने भएको छ। आगामी भदौ १६ गतेदेखि आरोहण अनुमति लिने आरोहीले सगरमाथा सहितका हिमाल आरोहण गर्न नयाँ शुल्क तिर्नुपर्ने भएको हो।
पर्यटन विभागका अनुसार संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले संशोधन गरेको पर्वतारोहणसम्बन्धी नियमावली अनुसार भदौ १६ गतेदेखि सगरमाथा सहित अन्य हिमालमा आरोहणमा नयाँ शुल्क लागू हुन लागेको हो।
उचाइ अनुसार हिमाल आरोहण शुल्क बढेको छ । नयाँ शुल्कअनुसार विदेशी पर्यटकले अब वसन्त याममा सगरमाथाको नर्मल रुट दक्षिणपूर्व बाट आरोहण गर्न १५ हजार डलर बुझाउनु पर्नेछ।
त्यस्तै शरद ऋतुमा आरोहण गर्न सात हजार पाँच सय डलर र शिशिर तथा वर्षा ऋतुमा तीन हजार ७५० डलर तिर्नुपर्ने छ। हाल शरद ऋतुमा पाँच हजार पाँच सय डलर र शिशिर तथा वर्षा ऋतुमा दुई हजार पाँच सय डलर लिइन्छ।
विभागका अनुसार सगरमाथाको दक्षिणपूर्वी रुटबाहेक अन्य रुटमा आरोहण गर्न वसन्त ऋतुमा १० हजार डलर, शरद ऋतुको पाँच हजार डलर र शिशिर र वर्षा ऋतुको दुई हजार ५०० डलर तिर्नुपर्नेछ।
सगरमाथा बाहेकका आठ हजार मिटरभन्दा माथिका अरू हिमालमा विदेशीका लागि वसन्तकालीन, शरदकालीन र अन्य याममा क्रमशः तीन हजार, एक हजार ५०० र ७५० डलर शुल्क तय गरिएको छ।