३० श्रावण २०८२, शुक्रबार
Follow Us

एनआरएनए निर्वाचन सरगर्मी : धमाधम प्रतिनिधि दर्ता, संख्या १५ सय नाघ्यो

नेपालब्रिटेन संवाददाता
२९ श्रावण २०८२, बिहीबार २१:२५

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी अक्टोबरमा हुने निर्वाचनको तयारी तीव्र बन्दै गएको छ। आइतवारदेखि सुरु भएको प्रतिनिधि दर्ता प्रक्रियामा बिहीवारसम्म करिब १५ सय जनाले आफ्नो नाम दर्ता गराइसकेका छन्।

संघका अनुसार पञ्जीकृत सदस्यहरूले तोकिएको मापदण्ड पूरा गरेपछि ‘स्मार्ट एनआरएनए’ एपमार्फत अनलाइन दर्ता गर्न सक्ने व्यवस्था छ। योग्य आवेदकहरूले आगामी अगस्ट २० भित्र प्रतिनिधि दर्ता प्रक्रिया सम्पन्न गर्नुपर्नेछ।

महाधिवेशनका लागि प्रतिनिधि बन्नका लागि हाल वा विगतमा अन्तर्राष्ट्रिय परिषद् (ICC) वा राष्ट्रिय परिषद् (NCC) मा कम्तीमा एक कार्यकाल सेवा गरेका व्यक्तिहरू प्राथमिक रूपमा योग्य हुनेछन्। तर, यस्तो संख्या नपुगेमा पञ्जीकृत सदस्यहरूबाट पनि प्रतिनिधि चयन गर्न सकिने व्यवस्था छ।

गैरआवासीय नेपाली संघको १२औं महाधिवेशनमा उम्मेदवार बन्न र मतदान गर्न अनिवार्य रूपमा प्रतिनिधि दर्ता भएको हुनुपर्छ। संघको नयाँ नेतृत्वका लागि यसपटक अनलाइन मतदान हुने तय भएको छ।

धेरै पढिएको