९ आश्विन २०८२, बिहीबार
Follow Us

फर्किएनन् भागेका ६ हजार कैदी, बढ्यो सुरक्षा चुनौती

नेपालब्रिटेन संवाददाता
९ आश्विन २०८२, बिहीबार ०६:०३

काठमाडौं । गत भदौ २४ गतेको ‘जेन-जी’ आन्दोलनका क्रममा देशभरका कारागार र प्रहरी हिरासतहरूमा भएको तोडफोड तथा आगजनीपछि भागेका करिब १४ हजार कैदीबन्दी र थुनुवामध्ये अझै ६ हजार २ सय जना फरार रहेको खुलासा भएको छ ।

६ हजारभन्दा बढी कैदी कारागार बाहिर रहँदा मुलुकको आन्तरिक सुरक्षा व्यवस्थामा गम्भीर चुनौती थपेको छ, विशेषगरी १ हजारभन्दा बढी विदेशी नागरिक फरार हुनुले अन्तर्राष्ट्रिय सुरक्षा सरोकार पनि बढाएको छ । जेन-जी आन्दोलनका बेला राज्यले दमन गरेपछि भड्किएको प्रदर्शनले अराजक रूप लिँदा कैदीबन्दीहरूले यसको फाइदा उठाएका थिए । भदौ २४ गते २८ वटा कारागार/बालसुधार गृह र डेढ सयभन्दा बढी प्रहरी हिरासतमा तोडफोड, आगजनी र विध्वंस मच्चाइएको थियो ।

यस घटनामा झन्डै १४ हजार ४३ कैदीबन्दी र थुनुवा भागेका थिए, जसमध्ये बुधबार साँझसम्म ७ हजार ८ सय ४३ जना पक्राउ परिसकेका छन् । कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार जेल तोडेर भागेका कैदीबन्दीमध्ये ७ हजार ४ सय ४३ जनालाई नियन्त्रणमा लिइएको छ भने नेपाल प्रहरीका अनुसार हिरासत कक्षबाट भागेकामध्ये करिब ४ सय थुनुवा पक्राउ परेका छन् । उनीहरूमाथि हिरासत कक्ष फोडेर विध्वंस मच्चाएको अभियोगमा समेत अनुसन्धान भइरहेको प्रहरी अधिकारीहरूले जनाएका छन् ।

अझै फरार रहेका ६ हजार २ सय कैदीबन्दी र थुनुवामध्ये करिब १ हजार विदेशी नागरिक छन् । चीन, भारत, पाकिस्तान, बंगलादेशलगायत विभिन्न मुलुकका नागरिक जेल तोडेर भागेका थिए । फरार हुनेमा लागूऔषध, हत्या, लुटपाट, बलात्कार, तस्करी, भ्रष्टाचार, नक्कली भुटानी शरणार्थी प्रकरण, विदेशी मुद्रा तस्करीलगायतका गम्भीर अभियोगमा दोषी ठहर भएका तथा पुर्पक्षमा रहेका व्यक्तिहरू छन् ।

यस घटनापछि सुरक्षा खतरा उच्च रहेको निष्कर्ष प्रहरीले निकालेको छ । हिंसाका क्रममा प्रहरी ब्यारेक र कार्यालयबाट मात्रै इन्सास, एसएलआर र पिस्तोलसहितका १ हजार २ सयभन्दा बढी हतियार लुटिएका थिए । ती हतियारका करिब १ लाख राउन्ड गोली पनि अभिलेखबाट हराएका छन् । हराएका हतियार र गोलीगट्ठा तथा फरार कैदीबन्दीका कारण मुलुकमा सशस्त्र समूहको उदय हुन सक्ने जोखिम रहेको प्रहरीले औंल्याएको छ ।

फरार भएकामध्ये केही महत्त्वपूर्ण व्यक्तिहरू भने नियन्त्रणमा आइसकेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका क्रममा केन्द्रीय कारागारमा रहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वसचिव टेकनारायण पाण्डे र तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई कारागार फर्किसकेका छन् ।

यसैगरी, सुन तस्करी अभियोगमा सजाय भुक्तान गरिरहेका गोरे भनिने चुडामणि उप्रेती पनि डिल्लीबजार कारागार फर्किएका छन् । शरणार्थी प्रकरणमै पुर्पक्षका क्रममा रहेका केशव दुलाल र सानु भण्डारीलाई प्रहरीले मंगलबार साँझ उपत्यकाबाटै पक्राउ गरेको छ । सहकारी ठगी प्रकरणमा नक्खु कारागारमा रहेका रास्वपाका सभापति रवि लामिछाने पनि फर्किसकेका छन् ।

नेपाल-भारत खुला सिमानाका कारण कतिपय कैदीबन्दी भारततर्फ भाग्न सक्ने जोखिम छ । यसलाई मध्यनजर गर्दै अन्तर्राष्ट्रिय सीमानाकामा सुरक्षा जाँच कडा पारिएको छ । कारागार र प्रहरी हिरासतबाट भागेका कैदीबन्दी तथा थुनुवा विभिन्न नामबाट विदेश भाग्ने सम्भावना पनि उच्च रहेको छ ।

जेन-जी विद्रोहपछि नेपालमा निम्तिएको सुरक्षा चुनौतीलाई ध्यान दिँदै यूएई, कतार र मलेसियालगायत मुलुकले नेपाली कामदार लैजान कडाइ गर्न थालेका छन् । यूएईले त भिजिट र वर्किङ भिसा हाललाई स्थगन नै गरिसकेको छ ।

धेरै पढिएको