काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ राईले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा मागेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले कार्कीको राजीनामा मागेका हुन् ।
जेनजी आन्दोलनकारीको मागअनुसार काम गर्न नसकेकाले कार्कीले तत्काल राजीनामा दिनुपर्ने माग उनको छ । कार्कीले छाडेपछि आफू आएर जेनजीको भावनाअनुसार सबै काम गर्ने जिकिर पनि उनले गरे । ‘सुशीलाजी’ तपाईंले जेन्जीको मर्मअनुसारको काम गर्नु सक्नु भएन । राजीनामा दिनुस्, म गर्छु उनीहरुको माग पूरा एकएक गरेर ।
यसअघि पनि उनले आफूलाई प्रधानमन्त्री बनाइनुपर्ने माग गरेका थिए । त्यसका लागि प्रधानसेनापति अशोकराज सिग्देललाई भेटेरै कुरा राखेका थिए । काठमाण्डूका मेयर बालेन्द्र साह (बालेन) ले प्रधानमन्त्री हुन रोकेको भन्दै राईले आक्रोश पोख्दै आएका छन् ।
बालेनले मन्त्री खाने भए भारतीय दूतावासमा गएर कुरा मिलाउन भनेको आरोप उनको छ । प्रधानमन्त्री बन्न नपाएपछि गृहमन्त्री बनाउने प्रस्ताव लिएर बालुवाटार गएका राईलाई प्रधानमन्त्री कार्कीले नभेट्नै बताएपछि सुरक्षाकर्मीले घण्टौंसम्म गेटमा कुराएर राईलाई फिर्ता पठाइदिएका थिए ।