लन्डन । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको मागसहित भैरहेको हस्ताक्षर अभियान रोक्न विदेशस्थित नेपाली जनसम्पर्क समितिहरुले आग्रह गरेका छन्।
नेपाली जनसम्पर्क समिति बेलायतका सभापति युवराज गुरुङका अनुसार शनिबार आयोजित भर्चुअल भेलामा एक दर्जनभन्दा बढी मुलुकका नेपाली जनसम्पर्क समितिका सभापतिहरुले सो माग गरेका हुन्।
भेलामा बोल्ने वक्ताहरुले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा केन्द्रीय सदस्य डा. आरजु देउवा राणामाथि भएको भौतिक आक्रमणको निन्दा गर्दै, उउहाँहरुको स्वास्थ्य अवस्था अझै अस्वस्थ रहेको समयमा विशेष महाधिवेशनको कुरा गर्नु वेमौसमको वाजा भएको धारणा व्यक्त गरेका थिए।
गुरुङका अनुसार हाल पार्टीभित्र सक्रिय सदस्यता वितरण र नियमित महाधिवेशनको तयारी भैरहेको अवस्थामा चलिरहेको हस्ताक्षर अभियानले कांग्रेसलाई थप अप्ठ्यारोमा पार्ने सहभागीहरुको निष्कर्ष थियो। उनीहरुले ‘जेनजी आन्दोलन’ पछि पार्टीभित्र संरचनागत परिमार्जन आवश्यक रहेको स्वीकार गर्दै, त्यसको समाधान एकता महाधिवेशनमार्फत खोज्नुपर्नेमा जोड दिएका थिए।
भेलामा नेपाली जनसम्पर्क समिति अमेरिका, नेदरल्याण्ड्स, जापान, जर्मनी, डेनमार्क, युएई, क्यानाडा, भारत, कतार, बेल्जियम लगायतका देशका प्रतिनिधिहरुले आ–आफ्ना धारणा राखेका थिए। सहभागीहरुमा गंगाधार गौतम, नारायण आचार्य लगायतका नेताहरु थिए।