जलेश्वर । जेनजीको आन्दोलनको मौका छोपी गत भदौ २४ गते महोत्तरीको जलेश्वर कारागारबाट भागेका कैदीबन्दीलाई यही असोज २० गतेसम्म फर्किन मौका प्रदान गरिएको छ ।
कारागार कार्यालय जलेश्वरले एक सूचना जारी गर्दै कारागारबाट भागेका सबै कैदीबन्दीलाई असोज २० गतेसम्म फर्की आउन अनुरोध गरेको जेलर अशोक क्षेत्रीले बताए ।
साथै तोकिएको अवधिभित्र फर्की नआउने फरार कैदीबन्दी उपर कारागार ऐन २०७९ र अन्य नेपालको प्रचलित कानुनबमोजिम कारबाही हुने जेलर क्षेत्रीद्वारा जारी गरिएको सूचनामा उल्लेख गरिएको छ ।
कारागारबाट भागेका कैदीबन्दीलाई लुकाउने, छिपाउने वा आश्रय दिने व्यक्तिलाई समेत कसुरदार ठानी प्रचलित कानुनबमोजिम कारबाही हुने व्यहोरा सूचनामा उल्लेख गरिएको छ । गत भदौ २४ गते कारागारमा कैदीबन्दी भई बस्दै आएका ४० भारतीयसहित सबै ५७६ जना फरार भएकामा आज बिहानसम्म यस कारागारमा २६२ जना फिर्ता आइसकेको क्षेत्रीले बताए ।