गण्डकी । जिल्ला भलिबल सङ्घ बागलुङको आयोजना र गलकोट नगर भलिबल सङ्घको संयोजनमा यही कात्तिक १७ देखि ३० गतेसम्म विभिन्न चार विधामा ‘गलकोट कप’ भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ ।
खुला वडास्तरीय पुरुष भलिबल, खुला पालिकास्तरीय महिला भलिबल, भेट्रान्स कप र माध्यमिक विद्यालयस्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना गर्न लागिएको गलकोट नगर भलिबल सङ्घका अध्यक्ष एवं कार्यक्रम संयोजक होमबहादुर थापाले जानकारी दिनुभयो ।
गलकोट–६ बसाहफाँटमा सञ्चालन हुने चारवटै विधाका प्रतियोगितामा अहिलेसम्म ५१ समूह सहभागी हुने निश्चित भइसकेको उहाँले बताउनुभयो । उहाँका अनुसार भेट्रान्स कपका लागि १६, खुला वडास्तरीय पुरुष भलिबलमा १२, माध्यमिक विद्यालयस्तरीय पुरुष भलिबलमा १६ र खुला पालिकास्तरीय महिला भलिबल प्रतियोगितामा सात समूह सहभागी हुनेछन् ।
खुला प्रतियोगिता भएकाले जुनसुकै जिल्लाका पालिका र वडाका समूहले सहभागिता जनाउन सक्ने अध्यक्ष थापाले बताउनुभयो । प्रतियोगिताको खुला पुरुषतर्फको खेलका विजेताले ट्रफी र मेडलसहित रु दुई लाख एक हजार १११, उपविजेताले रु एक लाख एक हजार १११ र तेस्रो हुनेले रु ५१ हजार १११ पुरस्कार प्राप्त गर्नेछन् ।
भेट्रान्स कप भलिबको विजेताले ट्रफी र मेडलसहित रु एक लाख, उपविजेताले रु ६० हजार र तेस्रो स्थान हासिल गर्नेले रु ३५ हजार पुरस्कार प्राप्त गर्नेछन् । खुला पालिकास्तरीय महिला भलिबल प्रतियोगिताका विजेताले ट्रफी र मेडसहित रु ५१ हजार १११, उपविजेताले रु ३० हजार १११ र तृतियले रु १५ हजार १११ प्राप्त गर्नेछन् ।
माध्यमिक विद्यालयस्तरीय पुरुष भलिबल प्रतियोगिताको विजेतालाई ट्रफी र मेडलसहित रु ३५ हजार, उपविजेतालाई रु २० हजार र तृतीयलाई रु १० हजार पुरस्कार प्रदान गरिने कार्यक्रम संयोजक थापाले बताउनुभयो । उक्त अवसरमा विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरिएको उहाँको भनाइ छ ।
सामूहिक लोकनृत्य प्रतियोगिता, एकल नृत्य प्रतियोगिता, खुला डबल ब्याडमिन्टन प्रतियोगिता, आमासमूहस्तरीय पञ्चेबाजामा नृत्य प्रतियोगिता र माछा छोप्ने प्रतियोगिता आयोजना गरिएको छ ।
सामूहिक लोकनृत्य प्रतियोगिताको प्रथम, द्वितीय र तृतीय पुरस्कार क्रमशः रु २५ हजार, रु १५ हजार र रु सात हजार राखिएको छ । एकल नृत्यतर्फ रु १५ हजार, रु १० हजार र रु सात हजार राखिएको छ । डबल ब्याडमिन्टन प्रतियोगितामा प्रथम हुनेलाई रु ३५ हजार र दोस्रो हुनेलाई रु २० हजार प्रदान गरिनेछ । पञ्चेबाजामा हुने नृत्यमा प्रथम हुनेलाई रु १० हजार, दोस्रो हुनेलाई रु पाँच हजार र तेस्रो हुनेलाई रु दुई हजार ५०० पुरस्कारको व्यवस्था गरिएको छ ।
स्थानीय दरमखोलामा हुने माछा छोप्ने (हत्केला खेल्ने) प्रतियोगिताका विजेतालाई रु १० हजार पुरस्कार प्रदान गरिने कार्यक्रम संयोजक थापाले बताउनुभयो । कार्यक्रम अवधिभर विभिन्न विधाका कलाकारको साङ्गीतिक प्रस्तुति रहने उहाँले उल्लेख गर्नुभयो ।