काठमाडौं । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशका सम्पूर्ण वामपन्थी शक्तिहरूलाई कम्युनिस्ट पार्टीको एउटै झण्डामुनि एकताबद्ध हुन हार्दिक आह्वान गरेका छन् । राष्ट्रिय स्वाधीनताको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र समाजवाद निर्माणको आधार तयार पार्नका लागि एकता र साझा आन्दोलन आजको अपरिहार्य आवश्यकता भएको उनले औंल्याएका छन् ।
प्रचण्डले आफ्नो अपिलमा भनेका छन्, ‘राष्ट्रिय स्वाधीनता, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र समाजवाद निर्माणको आधार तयार पार्न माओवादीसहितका वामपन्थी शक्तिहरूले एकता र साझा आन्दोलनमार्फत् अघि बढ्नु आजको आवश्यकता हो । यस सत्यलाई आत्मसात् गर्दै, म देशका सबै माओवादी धारासहितका बामपन्थीहरूलाई कम्युनिस्ट पार्टीको एउटै झण्डामुनि एकताबद्ध हुन हार्दिक अपिल गर्दछु ।’
उनले संविधानको रक्षा गर्दै समुन्नत लोकतन्त्रको विकास र राष्ट्रिय स्वाधीनताका लागि सबै गणतान्त्रिक शक्तिलाई राष्ट्रिय एकताको साझा मोर्चामा गोलबन्द हुन पनि आह्वान गरेका छन् । देशले सामना गरिरहेका जटिलता, जनअपेक्षा र लोकतन्त्रमाथि देखा परेका चुनौतीहरूलाई सम्बोधन गर्न ऐतिहासिक जिम्मेवारी आएको प्रचण्डको भनाइ छ ।
प्रचण्डका अनुसार, राष्ट्रले भोगिरहेका समस्या र संकटहरूको समाधान अग्रगामी क्रान्तिकारी विचार, प्रतिबद्ध संगठन र इमान्दार राजनीतिक पहलकदमीबाट मात्रै सम्भव छ । यस सन्दर्भमा देशभक्त, प्रगतिशील, वामपन्थी शक्तिहरूबीच संगठनात्मक ध्रुवीकरण तथा लोकतान्त्रिक शक्तिहरूबीच राष्ट्रिय सहकार्य अपरिहार्य बनेको उनले जोड दिएका छन् ।