१३ कार्तिक २०८२, बिहीबार
Follow Us

प्रहरीको हतियार लुटेर चुरोट तान्दै गोली हानेको भिडियो पोष्ट गर्ने जेन-जी पक्राउ

नेपालब्रिटेन संवाददाता
१३ कार्तिक २०८२, बिहीबार ०२:२९

काठमाडौँ । जेन-जी आन्दोलनका क्रममा २४ भदौमा प्रहरीको पेस्तोल लुटेका दुई युवा मंगलबार राति काठमाण्डूको ढल्कोबाट पक्राउ परे ।

काठमाण्डू उपत्यका अपराध कार्यालयको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा नुवाकोटका २३ वर्षीय समिर श्रेष्ठ र काभ्रका २३ वर्षीय एलेक्स नेपाली छन् । समीरविरुद्ध प्रहरीले यसअघि नै अभद्र व्यवहारको कसुरमा मुद्धा चलाइसकेको भेटिएको छ ।

प्रहरीबाट लुटेको हतियार उनीहरुले घरमा लगेर फायर गरेका थिए । श्रेष्ठले नागार्जुनस्थित घरको छतमा उभिएर चुरोट तान्दै पेस्तोल पड्काएको भिडियो सामाजिक सञ्जालमा आफैंले पोष्ट गरेका थिए ।

कार्यालयका एसपी काजीकुमार आचार्यले उनले आफूले पेस्तोल पड्काएको भिडियो पोस्ट गरेको स्वीकारेको बताए । नेपालीले भिडियो नबनाए पनि पेस्तोल भने पड्काएका थिए । प्रहरीले उनीहरुको साथबाट ५४ क्यालिबरको पेस्तोल थान एक, खाली म्यागजिन एक र १२ राउन्ड गोली बरामद गरेको छ ।

उनीहरुले इचँगुनारायण मन्दिर क्षेत्रमा हतियार देखाएर सर्वसाधारणलाई तर्साउने गरेको समेत पाइएको एसपी आचार्य बताउँछन् । उनीहरुलाई काठमाण्डू प्रहरी परिसरको जिम्मा लगाइएको आचार्यले बताए ।

परिसरले दुवै जनाविरुद्ध हातहतियार तथा खरखजनासम्बन्धी कसूरमा म्याद थप गरेर अनुसन्धान अघि बढाएको छ ।

धेरै पढिएको