४ मंसिर २०८२, बिहीबार
Follow Us

अध्यक्ष ओलीलाई गम्भीर समीक्षाका लागि योगेश भट्टराईको आग्रह

नेपालब्रिटेन संवाददाता
४ मंसिर २०८२, बिहीबार ०६:१४

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले मधेश प्रदेशमा पार्टीले भोगेका पछिल्ला धक्काहरूका बारेमा गम्भीर समीक्षा गर्न पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेका छन् । मधेशमा पार्टीको जनआधार खस्किँदै गएको र सार्वजनिक छविमा समेत प्रश्न उठेको भन्दै उनले नयाँ रणनीतिका साथ अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् ।

पछिल्ला केही दिन यता मधेश प्रदेशमा भएका घटनाक्रमहरूलाई जोड्दै भट्टराईले सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका हुन् । बुधबार बाराको सिमरामा जेनजी युवासँग एमाले कार्यकर्ताहरूको झडप, मधेश प्रदेश प्रमुखको बर्खास्ती, मधेशकै सभामुख पदमुक्त हुनु र मुख्यमन्त्री नियुक्तिविरुद्ध अदालतमा मुद्दा पर्नुजस्ता घटनाले पार्टीलाई ठूलो धक्का पुगेको उनको भनाइ छ ।

भट्टराईले फेसबुकमा लेखेका छन्, ‘प्रदेश प्रमुखको बर्खास्ती भएको छ । सभामुख पदमुक्त हुनुभएको छ (यद्यपि यसको संवैधानिक तथा संसदीय प्रक्रियाको न्यायिक परीक्षण हुने नै छ) । मुख्यमन्त्री पद अदालतको कठघरामा छ। राजनीतिक रूपमा हामी एक्लिएका छौं । पार्टीभित्र अन्तरविरोध तीव्र बनेको छ । यो सबै किन र कस्का कारणले भयो ? मधेशमा स्वयम् पार्टी अध्यक्षले गर्नु भएको मेहनतमाथि किन, कसले र केका लागि खेलवाड गरियो ? यी तमाम विषयमा गम्भीर समीक्षा हुनु पर्दछ ।’

उनले मधेशमा पार्टीको जनआधार विस्तार गर्न, आन्तरिक एकतालाई सुदृढ गर्न र पार्टीको सामाजिक छवि सुधार गर्नका लागि नयाँ जिम्मेवारीका साथ जानुपर्ने आवश्यकता औंल्याएका छन् । ‘यस विषयमा गम्भीर भएर विचार गर्न पार्टी अध्यक्ष कमरेडलाई निवेदन गर्दछु,’ भट्टराईले भनेका छन् ।

धेरै पढिएको