जापानी प्रहरीको हिरासतमा ज्यान गुमाएका ३९ वर्षीय नेपाली अर्जुनबहादुर सिंहको परिवारले न्याय पाएको छ।
टोकियो उच्च अदालतले गत नोभेम्बर १९ मा टोकियो महानगरीय सरकारलाई उनको परिवारलाई ३ करोड ९० लाख येन (३ करोड ५६ लाख नेपाली रुपैयाँ) क्षतिपूर्ति तिर्न आदेश दिएको छ। यो रकम सन् २०२३ मा टोकियो जिल्ला अदालतले दिएको १० लाख येनभन्दा झन्डै ३९ गुणा बढी हो।
सन् २०१७ मा टोकियोको सिंह्जुकु प्रहरीले क्रेडिट कार्ड चोरेको आशंकामा सिंहलाई पक्राउ गरेको थियो। उनी जापानको एक रेस्टुरेन्टमा काम गर्थे। पक्राउ परेको भोलिपल्ट हिरासत कक्षमा प्रहरीले उनलाई नाइलन बेल्टले हात र खुट्टा जोडेर ‘हग-टाई’ अवस्थामा करिब दुई घण्टासम्म बाँधेर राखेको थियो। यसले उनको रक्तसञ्चार अवरुद्ध हुँदा क्रस सिनड्रोम र मुटुको धड्कन बन्द भई बेहोस भए।
अस्पताल पुर्याउन ढिलाइ हुँदा उनको मृत्यु भयो। सिंहकी पत्नी र सानो छोराछोरी नेपालमै थिए, जसलाई यो घटनाले गहिरो आघात पुर्यायो। तल्लो अदालतले नेपालको क्षतिपूर्ति कानुनलाई आधार मानेर रकम सीमित गरेको थियो, जसअनुसार विदेशी नागरिकलाई सामान्यतया १० लाख येनसम्म मात्र दिन सकिन्छ।
यो ‘पारस्परिकता सिद्धान्त’ मा आधारित थियो, जसले विदेशी पीडितलाई उनीहरूको देशले जापानी नागरिकलाई दिने क्षतिपूर्तिसरह व्यवहार गर्ने प्रयास गर्थ्यो। तर सिंहका वकिलहरूले यो भेदभावपूर्ण भएको भन्दै पुनरावेदन गरेका थिए।
उच्च अदालतले यो सिद्धान्तलाई मानव अधिकारविपरीत र अव्यवहारिक ठहर गर्दै बदर गरेको हो। अदालतले नेपाली नागरिकहरू पनि जापानी कानुनअन्तर्गत समान संरक्षणका हकदार छन् भनेको छ। अदालतका अनुसार त्यसरी रक्तप्रवाह रोक्नु आफैंमा गैर कानुनी काम हो। यसले गुमेको भविष्यको आय र भावनात्मक पीडाको लागि पूर्ण क्षतिपूर्ति दिनुपर्ने ठहर गर्यो। तर सरकारविरुद्धको दाबी पहिलो मुद्दाजस्तै खारेज गरियो।
सिंहको परिवारलाई प्रतिनिधित्व गर्ने वकिल र्युतारो ओगावाले फैसलाको स्वागत गर्दै भने, ‘कानुनमा व्यवस्था नगरिएको सीमा लगाउने जिल्ला अदालतको आधारहीन निर्णयको तुलनामा उच्च अदालतले निष्पक्ष फैसला गर्यो।’ उनले पुनरावेदनको क्रममा न्यायाधीशहरूले प्रहरीले अर्जुनलाई दिएको पीडा आफैं अनुभव गरेपछि अवैधता बुझ्न थप सजिलो भएको आकंलन गरेका छन्।
जापानी अखबार असाही शिम्बुनका अनुसार यो फैसला जापानमा विदेशी नागरिकहरूको मानव अधिकार रक्षाका लागि महत्त्वपूर्ण पूर्वाधार बन्न सक्छ। यसले प्रहरी हिरासतमा हुने दुरुपयोग रोक्न पनि सहयोग पुर्याउनेछ। सिंहको परिवारले यो क्षतिपूर्तिबाट आर्थिक सहयोग पाउनेछ। तर उनीहरूको भावनात्मक घाउ कहिल्यै नपुरिने वकिल ओगावाले सुनाए। एजेन्सी