काठमाडौं । पुर्पक्षमा थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महरा तोकिएको धरौटी बुझाएर रिहा भएका छन् । सुन तस्करीको आरोपमा थुनामा रहेका महरालाई उच्च अदालत पाटनले २० लाख धरौटी तोकेपछि रिहाई प्रक्रियाका लागि काठमाण्डू जिल्ला अदालत उपस्थित गराइएको थियो । जिल्ला अदालत काठमाडौंका प्रवक्ता दीपक कुमार श्रेष्ठले महराले धरौटी बुझाएर रिहा भएको जानकारी दिए ।
न्यायाधीश अर्जुनप्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको संयुक्त इजलासले उनलाई २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । महराविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बराबरको बिगो र तीन वर्षभन्दा बढी कैद सजाय माग गर्दै मुद्दा दायर गरिएको थियो ।
उनीमाथि विद्युतीय चुरोट (भेप) भित्र सुन लुकाएर ल्याएको माल भन्सारबाट छुटाउन दबाब दिएको आरोप लगाइएको थियो ।
१० पुस २०७९ मा फ्लाई दुबईको एफजेट ०५८७ नम्बरको फ्लाइटमार्फत काठमाडौं आएका चिनियाँ नागरिक लि हानसोङले ल्याएका दुई वटा सुटकेशमा भेप देखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले ती वस्तु नियन्त्रणमा लिएको थियो । हानसोङ भने पासपोर्ट फिर्ता लिएर भोलिपल्टै काठमाडौं छाडेका थिए ।