काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई आगो लगाउनेहरूलाई आगामी निर्वाचनमा पराजित गर्नुपर्ने बताएका छन् ।
लोकतन्त्र बचाउनका लागि आगो लगाउनेहरूलाई चिन्हित गरेर आगामी निर्वाचनमा पराजित गर्नुपर्ने अध्यक्ष ओलीको जिकिर थियो । पार्टीले शुक्रवार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले देशभक्त र लोकतान्त्रिक शक्तिहरूसँग लोकतन्त्र बचाउनका लागि सहकार्य गर्दै अघि बढ्ने समेत बताए ।
देशभक्त र लोकतान्त्रिक शक्तिहरू आगामी निर्वाचनमा प्रतिस्पर्धी नहुने ओलीको भनाई थियो । उनले संविधान, राजनीति, राजनीतिक दलका नेताहरू नचाहिने तत्त्वले देशमा आतङ्क फैल्याउने काम गरिरहेको पनि बताए ।
अध्यक्ष ओलीले भने ‘अहिले म भन्न चाहन्छु नेकपा (एमाले) को तर्फबाट–हाम्रो प्रतिस्पर्धा कसैसँग छैन । देशभक्त, लोकतान्त्रिक शक्तिहरूसँग प्रतिस्पर्धा छँदै छैन । लोकतन्त्र बच्यो भनेन प्रतिस्पर्धा गर्ने हो। लोकतन्त्र नै बचेन भने के मा प्रतिस्पर्धा गर्ने हो ? त्यसकारण अहिलेको कुरा हो लोकतन्त्र । हामीले चिन्नुपर्ने र पराजित गर्नुपर्ने आगो लगाउनेहरू हुन् । हामीले चिन्नुपर्ने र पराजित गर्नुपर्ने असंवैधानिक लोकतन्त्र विरोधी संसद् विघटनकर्ताहरू, देशलाई अलोकतान्त्रिक अवस्थामा धकेल्ने यस्ता तत्त्वहरू हुन् । देशमा अराजकता सृजना गर्न खोज्ने, यस्ता तत्त्वहरू हुन । डेमोक्रेसी चाहिएन उनीहरूलाई । संविधान चाहिएन, राजनीति चाहिएन । राजनीतिक पार्टीहरू चाहिएन, राजनीतिक दलका नेताहरू चाहिएन । देशलाई नीतिविहीन, थितिविहिन अराजकता र आतंकको एउटा राज्य बनाउन खोजियो ।’
अध्यक्ष ओलीले असंवैधानिक लोकतन्त्र विरोधी संसद् विघटनकर्ताहरू, देशलाई अलोकतान्त्रिक अवस्थामा धकेल्ने तत्त्वहरू भएको समेत बताए ।