काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नेपालमा गणतन्त्रको घोषणा गर्ने थलोको रूपमा रहेको रुकुम (पूर्व) मा समाजवाद निर्माणको सन्देश दिन आफू उम्मेदवार बनेको बताएका छन् ।
शुक्रवार काठमाडौंमा आयोजित रुकुम (पूर्व)का कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले रुकुम (पूर्व) नेपालको गणतान्त्रिक आन्दोलनको निर्णायक केन्द्र भएको उल्लेख गरे ।
पूर्वी रुकुमको चुनवाङ बैठकबाट नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने निष्कर्ष निकालिएको स्मरण गर्दै उनले चुनवाङ बैठकले महिला, जनजाति, मधेसी, थारु लगायत उत्पीडित समुदायलाई पहिचानसहित अधिकार दिने उद्घोष गरेको बताए ।
चुनवाङ बैठक नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय रूपमा समेत परिचित रहेको उनको भनाइ छ । संयोजक दाहालले रुकुमपूर्वकै लवाङ बैठकमा पार्टीभित्र ऐतिहासिक विचारधारात्मक बहस भएको पनि स्मरण गरे ।
हाल देश जेनजी आन्दोलनपछि जटिल अवस्थामा रहेको उनको भनाई छ । राष्ट्रलाई एकताबद्ध गर्ने, कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाई दिने र देशभर समाजवाद निर्माणको नयाँ सन्देश प्रवाह गर्न रुकुम पूर्व उपयुक्त थलो भएको बताए ।
उनले सोही कारण आफू आगामी फागुन २१ गते हुने निर्वाचनको लागि रुकुम पूर्ववाट उम्मेदवार बनेको बताए । रोल्पाबाट पहिले नै निर्वाचन लडिसकेकाले यसपटक रुकुमपूर्व रोजेको उनको भनाई छ ।
उनले भने, ‘रुकुम पूर्वको विशेषता के छ भने पूर्वी रुकुम नै त्यस्तो जिल्ला हो, जहाँबाट नेपालमा गणतन्त्र अब कसैले रोक्न सक्दैन भनेर निष्कर्ष निकालिएको थियो र त्यो घोषणा गरिएको थियो । रुकुमको चुनवाङ बैठक । तपाई हामी सबैलाई गर्व छ, चुनवाङप्रति । त्यो चुनवाङ खाली नेपालमा मात्रै परिचित छैन, त्यसले नेपालमा संघिय लोकतान्त्रिक गणतन्त्रको ढोका खोलेको हो, चुनवाङ बैठकले । त्यो संसारभरी पनि परिचित छ ।’
उनले आफू तेस्रो पटक प्रधानमन्त्री हुँदा जनयुद्धका शहीदहरूलाई राष्ट्रिय शहीद घोषणा गरी औपचारिक तथा कानुनी मान्यता दिएको उल्लेख गरे । यद्यपि त्यसको कार्यान्वयनका लागि विधेयक बने पनि पूर्ण रूपमा लागू हुन बाँकी रहेको बताए ।