२६ फाल्गुन २०८२, मंगलवार
Follow Us

नेपाली कम्युनिष्ट पार्टीको चुनावी घोषणापत्रमा के छ ?

नेपालब्रिटेन संवाददाता
२७ माघ २०८२, मंगलवार १४:५४

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालले ‘सुशासन र रोजगारी समाजवादको तयारी, राष्ट्रियता र लोकतन्त्रको रक्षा हाम्रो जिम्मेवारी’ भन्ने नारासहितको चुनावी प्रतिबद्धता पत्र मंगलबार सार्वजनिक गरेका हुन् ।

घोषणापत्रमा पूर्वपश्चिम राजमार्ग, हुलाकीमार्ग, मध्य पहाडी लोकमार्ग, काठमाण्डू–निजगढ द्रुतमार्ग, काठमाण्डू–हेटौंडा सुरुङमार्ग, उत्तर दक्षिण लोकमार्ग (कोशी, त्रिशूली, कालीगण्डकी, कर्णाली र महाकाली कोरिडोर) गड्डाचौकी–चिसापानी सडकखण्ड चार लेनको निर्माण गरिने उल्लेख छ ।

प्रगति हुन नसकेका राष्ट्रिय गौरवका आयोजना र नयाँ महत्त्वपूर्ण आयोजनाहरूको निर्माण द्रुत रूपमा सम्पन्न गरिने पनि प्रतिबद्धतापत्रमा उल्लेख छ । काठमाडौंको बाहिरी चक्रपथ र अन्य प्रमुख शहरमा चक्रपथको निर्माणलाई तीव्रता दिइने घोषणापत्रमा छ ।

नेकपाले सबै स्थानीय तहका केन्द्रसम्म पक्की सडक पुर्‍याइने लक्ष राखेको छ । केरुङ–काठमाडौं, काठमाडौं–पोखरा र काठमाण्डू–लुम्बिनी रेलमार्गको निर्माण प्रक्रिया अगाडि बढाइने पनि घोषणापत्रमा लेखिएको छ । पूर्वपश्चिम रेलमार्ग, काठमाडौंमा मेट्रोरेल तथा मोनोरेल निर्माण गर्ने नेकपाले जनाएको छ । यस्तै ५ वर्षमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सक्ने पनि योजना छ ।

मुलुकका विभिन्न भागमा द्रुतमार्ग, लोकमार्ग र टनेल मार्गको निर्माण कार्य अगाडि बढाइने, प्रमुख शहरहरूमा मास ट्रान्जिट सिस्टम कार्यान्वयनमा ल्याउने, ठूला नदीहरूमा जल यातायातका पूर्वाधार निर्माण गर्ने योजना नेकपाको छ ।

घोषणापत्रमा नेकपाले काँग्रेस र एमालेलाई यथास्थितिवादी शक्तिको को संज्ञा दिइएको छ । ती दलसँग मुलुक अगाडि बढाउने कुनै नवीन अवधारणा नभएको आरोप लगाइएको छ । रास्वपासहित नयाँ दललाई सिद्धान्तहीन पपुलिष्ट भनिएको छ । उक्त दल भदौ २४ को विध्वंशकारी तत्वसँग सम्बन्धित रहेको आरोप लगाइएको छ । नयाँ भन्ने पपुलिष्ट शक्ति सिद्धान्तहीन र दृष्टिकोणविहीन रहेको आरोप नेकपाको छ ।

यस्तै राप्रपा प्रतिगामी र पुनरुथ्थानवादी शक्ति भएको ठहर नेकपाको छ । आफूलाई पनि सो पार्टीले क्रान्तिकारी र मुलुकको सही नेतृत्व गर्न सक्षम शक्ति भएको दाबी गरेको छ ।

धेरै पढिएको