ताजा खबर

गोर्खा सैनिक मुद्दा बेलायती संसद्मामा: समाधान खोज्न तयार रहेको बेलायती प्रधानमन्त्रीको भनाई

लण्डन। ब्रिटिस गोर्खा सैनिक र भूतपूर्व गोर्खा सैनिकहरूले भोग्दै आएका मुद्दा बेलायती संसद्मा फेरि उठेको छ। सांसद एलेक्स बेकरले एक फकल्यान्ड युद्धमा सेवा गरेका एक भूतपूर्व गोर्खा सैनिकको कथालाई उदाहरण दिइन्। युद्धमा एक आँखा गुमाउनुका साथै जीवन नै बदलिने चोट लागे पनि ती सैनिकले बेलायतको रक्षा मन्त्रालयबाट कुनै पेन्सन वा क्षतिपूर्ति नपाएको उनले बताइन्। घटनाको चार दशक बढी समय बितिसक्दा समेत ती भूतपूर्व गोर्खा सैनिक आफ्नो निर्वाचन क्षेत्रमा गरिबीमा जीवन बिताउन बाध्य रहेको उनको भनाइ थियो।

नेपाल सरकारले दिने मासिक ५० पाउन्ड पेन्सनकै भरमा जीवन चलाइरहेका ती सैनिक आफ्ना युद्धकालीन पदकहरू अत्यन्त गर्वका साथ लगाउने गरेको उनले संसद्लाई जानकारी दिइन्। गोर्खा भूतपूर्व सैनिक र रक्षा मन्त्रालय बीच पाँच वर्षदेखि पेन्सन तथा अधिकारका विषयमा वार्ता चलिरहेको उल्लेख गर्दै उनले आगामी डिसेम्बरमा हुने वार्ताबाट ठोस प्रगति नभए उनीहरू फेरि लन्डनको ह्वाइटहोलमा आमरण अनशन बस्न बाध्य हुने चेतावनी दिइन्।

उनले बेलायती सेनामा गोर्खा सैनिकको भर्ती जारी राख्न चाहने तर उनीहरू प्रति न्याय गर्न नसक्ने अवस्थाप्रति प्रश्न उठाइन्। ‘हामी अझै पनि आफ्नो सेनामा सेवा गर्न गोर्खाहरू भर्ती गर्न चाहन्छौं। तर उनीहरू प्रति न्याय गर्नुपर्ने विषयमा हामी सही अवस्थामा छैनौँ। आवश्यक सैनिक भर्ती गर्न नसक्नु राष्ट्रिय सुरक्षाका लागि ठूलो जोखिम हो,’ उनले भनिन्। उनले ऐतिहासिक अन्यायको अन्त्य गर्दै गोर्खा सैनिकहरूको भविष्य बेलायती सशस्त्र सेनामा सुरक्षित गर्न प्रधानमन्त्रीले उनीहरूका प्रतिनिधिसँग भेटी समाधानको लागि पहल गर्नुपर्ने माग गरिन्।

संसद एलेक्स बेकरको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री एन्डी बर्मनले आफ्नो निर्वाचन क्षेत्रका नागरिकका पक्षमा उनले गरेको पहलको प्रशंसा गरे। उनले स्मरण दिवसका अवसरमा यस्ता विषयहरू संसद्मा उठ्ने गरेको उल्लेख गर्दै समस्यालाई सम्बोधन गर्नुपर्ने बताए। प्रधानमन्त्री बर्मनले बेलायतका रक्षा मन्त्री गोर्खा भूतपूर्व सैनिकहरूले उठाएका विषयमा छलफल गर्न तयार रहेको जानकारी दिए। उनले उनीहरूको माग र सरोकारको महत्त्व आफूले बुझेको बताए।

About the author
नेपालब्रिटेन संवाददाता

नेपालब्रिटेन संवाददाता