३ फाल्गुन २०८२, आईतवार
Follow Us

सानेपाको कार्यक्रम रोकियो, फागुन ६ गते जनकपुरमा ‘प्रतिज्ञापत्र’ सार्वजनिक गर्दै कांग्रेस

नेपालब्रिटेन संवाददाता
३ फाल्गुन २०८२, आईतवार ०६:००

काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो चुनावी प्रतिज्ञापत्र मधेश प्रदेशको राजधानी जनकपुरधामबाट सार्वजनिक गर्ने भएको छ । यसअघि आइतबार केन्द्रीय कार्यालय सानेपाबाट सार्वजनिक गर्ने भनिएको कार्यक्रमलाई परिमार्जन गर्दै कांग्रेसले जनकपुरलाई घोषणापत्र सार्वजनिक गर्ने थलोको रूपमा रोजेको हो ।

पार्टीका प्रवक्ता देवराज चालिसेका अनुसार आगामी फागुन ६ गते बुधबार जनकपुरधाममा आयोजना हुने विशाल चुनावी सभाका बीच प्रतिज्ञापत्र सार्वजनिक गरिनेछ । सोही सभालाई कांग्रेसले आफ्नो औपचारिक चुनावी अभियानको ‘शङ्खघोष’ का रूपमा समेत चित्रण गरेको छ । सानेपामा तय गरिएको पूर्व निर्धारित कार्यक्रम स्थगित गर्दै पार्टीले रणनीतिक रूपमा मधेशको मुटुबाट आफ्नो प्रतिबद्धता सार्वजनिक गर्ने निर्णय गरेको हो ।

निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि दलहरूलाई आफ्नो घोषणापत्र वा प्रतिज्ञापत्र बुझाउन आइतबारसम्मको समयसीमा तोकेको थियो । आयोगको उक्त समयतालिका बमोजिम कांग्रेसले आइतबारै प्रतिज्ञापत्र बुझाउने तयारी गरेको छ । ‘आयोगको प्रक्रिया पूरा गर्न हामी आजै (आइतबार) प्रतिज्ञापत्र बुझाउँछौँ,’ प्रवक्ता चालिसेले भने, ‘तर, औपचारिक समारोह गरी जनतामाझ सार्वजनिक गर्ने कार्यक्रम भने फागुन ६ गते जनकपुरबाटै हुनेछ ।’

जनकपुरको चुनावी सभाबाट कांग्रेसले आफ्नो चुनावी एजेन्डा र भावी दिशाबारे देशभर सन्देश दिने लक्ष्य राखेको छ । प्रतिनिधि सभा निर्वाचनको मिति नजिकिँदै गर्दा ठूला राजनीतिक दलहरू यतिबेला घोषणापत्र लेखन र चुनावी सभाको अन्तिम तयारीमा जुटेका छन् । कांग्रेसले आफ्नो घोषणापत्रलाई ‘प्रतिज्ञापत्र’को नाम दिएर नागरिकमाझ जान लागेको हो ।

धेरै पढिएको