एनआरएनए स्कटल्याण्डको आयोजनामा एडिनबरा स्थित लौरिस्टन रक्तदान केन्द्रमा सोमबार महत्वपूर्ण रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
यस कार्यक्रमको मुख्य उद्देश्य रक्तदानप्रति जनचेतना फैलाउनु, रगतको महत्वबारे समुदायलाई सचेत गराउनु तथा स्कटल्याण्डको रक्त बैंकलाई आवश्यक सहयोग पुर्याउनु रहेको थियो। “रगत नै जीवन हो” भन्ने सन्देशलाई आत्मसात गर्दै आयोजना गरिएको यस कार्यक्रममा करिब ३५ जनाको सहभागिता रहेकोमा, २७ जनाले रक्तदान गर्नुभएको थियो।
कार्यक्रमको नेतृत्व एनआरएनए स्कटल्याण्डका अध्यक्ष शेर केसी ज्यूले गर्नुभएको थियो। उहाँको प्रेरणादायी नेतृत्व र सक्रिय सहभागिताले कार्यक्रमलाई थप उत्साहजनक बनाएको थियो। सहभागी सम्पूर्ण दाताहरूले मानवताको सेवामा समर्पित भावनाका साथ आफ्नो अमूल्य रगत दान गर्नुभएको थियो।
रक्तदान केवल एक सामाजिक कार्य मात्र होइन, यो जीवन बचाउने महान सेवा हो। अस्पतालहरूमा दैनिक रूपमा दुर्घटना, शल्यक्रिया, प्रसूति, क्यान्सर तथा अन्य गम्भीर रोगका कारण थुप्रै बिरामीहरूलाई रगतको आवश्यकता पर्दछ। धेरै पटक समयमै रगत उपलब्ध नभए जीवन नै जोखिममा पर्न सक्छ। यस्तो अवस्थामा एक जना दाताको सानो प्रयासले कसैको सम्पूर्ण जीवन बचाउन सक्छ।
यस कार्यक्रममार्फत समुदायमा एउटा स्पष्ट सन्देश प्रवाह भएको छ—हामी सबैले स्वस्थ रहँदासम्म नियमित रूपमा रक्तदान गरेर समाजप्रति आफ्नो कर्तव्य पूरा गर्न सक्छौं। रक्तदान सुरक्षित, सरल र वैज्ञानिक प्रक्रिया हो, जसले दाताको स्वास्थ्यमा कुनै नकारात्मक असर गर्दैन; बरु नियमित स्वास्थ्य परीक्षणमार्फत आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी पाउने अवसर पनि प्रदान गर्दछ।
एनआरएनए स्कटल्याण्डको लक्ष्य यस्ता सामाजिक तथा मानवतामूलक गतिविधिहरूलाई निरन्तरता दिने रहेको छ। भविष्यमा स्कटल्याण्डका अन्य शहरहरूमा पनि यस्तै वृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने योजना रहेको छ, जहाँ अझ व्यापक सहभागिता र योगदान सुनिश्चित गरिनेछ।
हामी सम्पूर्ण समुदायका सदस्यहरूलाई हार्दिक अनुरोध गर्दछौं—यस्ता पुण्य कार्यहरूमा सहभागी भई सामाजिक सेवा र मानवसेवाको अभियानमा साथ दिनुहोस्। तपाईंको एक थोपा रगत कसैको जीवनको आशा बन्न सक्छ।
आउनुहोस्, हामी सबै मिलेर समाजमा सकारात्मक परिवर्तन ल्याऔं, मानवताको रक्षा गरौं, र “रक्तदान—जीवनदान” भन्ने सन्देशलाई घर–घरमा पुर्याऔं।
सचिब माधव भण्डारीले यस रक्तदान कार्यक्रममा सहभागीहरु मध्ये धेरैजना पहिलो पटक रक्तदान गर्नेमा हुनुहुन्थ्यो र उहाँहरूले आज रक्तदान गर्न पाउँदा आफुलाई धन्य महसुस भएको र आगामी दिनहरुमा पनि निरन्तर रक्तदान गर्ने कुरा गर्नुभयो। साथै एनआरएनए स्कटल्याण्डको प्रयासको धेरैले प्रशंसा गर्नु भएको जानकारी दिनुभयो।

