काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफ्नो अभिव्यक्ति बांगोटिंगो बनाएर प्रचार गरिएको भन्दै आपत्ति जनाएका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमार्फत उनले आपत्ति जनाएका हुन् ।
विस्तृत शान्ति सम्झौतादेखि संविधानसभाको बेलासम्म जरुरी पर्दा काँग्रेस-एमालेसँग आफूले सहकार्य गर्दै आएको बताउँदै अहिले पनि उपलब्धि रक्षा गर्ने विषयमा मात्रै त्यस्तो बोलेको बताएका छन् ।
यसअघि हिजो विदेशी शक्तिहरूलाई परास्त गर्नका लागि काँग्रेस, एमाले, नेकपा जस्ता शक्तिहरू एकजुट हुनुपर्ने ‘प्रचण्ड’ले बताएका थिए ।
‘सिंहदरबार जलाउने दलालहरूबाट देश बचाउनु पर्दाखेरी, संविधान, शान्ति प्रक्रिया बचाउनुपर्दा काँग्रेससँग र एमालेसँग पनि कुरा गर्नुपर्नेछ,’ प्रचण्डले भनेका थिए, ‘यी त हाम्रा पुराना सहयात्री हुन् ।वैदेशिक दलालहरूले विरुद्ध जान पनि मिल्नुपर्ने छ ।’
तर, आफ्नो भनाइलाई गलत अर्थ लगाइएको ‘प्रचण्ड’को गुनासो छ । साथै, उनले काँग्रेस-एमाले भदौ २३ गते अघिका मात्रै सहयात्री काँग्रेस-एमाले भएको बताए ।