काठमाण्डौं । गैरआवासीय नेपाली संघको एक प्रभावशाली व्यक्तित्व खगेन्द्र न्यौपानेले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् ।
गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी नेतृत्वका लागि वर्तमान उपाध्यक्ष खगेन्द्र न्यौपानेले पुनः उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका छन्।
बुधबार बालुवाटारस्थित एनआरएनए सचिवालय पुगेर उनले औपचारिक रूपमा उम्मेदवारी दर्ता गराएका हुन्।
एनआरएनएको १२ औं विश्व महाधिवेशन आगामी मार्च १४, १५ र १६ मा काठमाडौंमा हुँदैछ।
उनले नेपाल र मलेसियामा व्यवसाय सञ्चालन गर्दै आएका छन्।
उनी सुरूवातमा अध्यक्ष पदको आकांक्षी थिए। पछि संस्थाभित्रको एकता र सहकार्य महत्त्वपूर्ण हुने भन्दै उनले पुनः उपाध्यक्षमै उम्मेदवारी दिएका हुन्।
न्यौपानेले यसपालिको महाधिवेशनमा ुसुदृढ संगठन, दरिलो एकतास् हाम्रो अभियानु नारा र ‘एक मन, एक संगठन’ को अवधारणा अघि सारेका छन्।
संस्थाभित्र देखिएका मतभेद र विभाजनलाई अन्त्य गर्दै विश्वभर रहेका गैरआवासीय नेपालीलाई एउटै साझा मञ्चमा एकताबद्ध गर्नु आफ्नो प्रमुख लक्ष्य रहेको उनले बताएका छन्।
वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूको सामाजिक सुरक्षा, श्रम अधिकार र सम्मानजनक कामको वातावरण सुनिश्चित गर्न एनआरएनएले अझ प्रभावकारी भूमिका खेल्नुपर्ने उनले बताएका छन्।
त्यसैगरी गैरआवासीय नेपाली नागरिकता र प्रवासी नेपालीको मताधिकारको विषयलाई पनि उनले प्रमुख एजेन्डा बनाएका छन्। संविधानले व्यवस्था गरेको अधिकारको व्यवहारिक कार्यान्वयन सुनिश्चित गर्न सरकार र सम्बन्धित निकायसँग समन्वय गरी ठोस पहल गर्ने उनको प्रतिबद्धता छ।
न्यौपानेले एनआरएनएलाई अझ विश्वासिलो, परिणाममुखी र एकताबद्ध संस्थाका रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।