१२ जेष्ठ २०८३, मंगलवार
Follow Us

ग्यालेक्सी टिभीलाई आफ्नो सामान लैजान महानगरद्वारा १५ दिने सूचना

नेपालब्रिटेन संवाददाता
१२ जेष्ठ २०८३, मंगलवार ०६:२९

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले गोरखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित ‘ग्यालेक्सी फोके टेलिभिजन’लाई आफ्नो कार्यालयमा रहेका सम्पूर्ण सामान १५ दिनभित्र हटाइसक्न सार्वजनिक सूचना जारी गरेको छ।

टिभीका अध्यक्ष गितेन्द्र बाबु राईलाई घर भाडा तिरेर कार्यालयमा रहेका सम्पूर्ण सरसामान हटाउन महानगरपालिकाले सार्वजनिक सूचना जारी गरेको हो ।

काठमाडौँ–३ का मृगेन्द्र प्रसाद मिश्रसमेतले ‘भाडा असुल उपर गरी घर जग्गा खाली गराई पाउँ’ भनेर दिएको निवेदनमा महानगरपालिकाको न्यायिक समितिले २०८१ कात्तिक १४ गते नै घर जग्गाको बहाल रकम र बहाल कर स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४७ बमोजिम प्रतिवादीबाट भराई घरजग्गा समेत खाली गराइदिने निर्णय गरेको थियो ।

यस्तै, २०८२ साउन २८ गते उच्च अदालत पाटनले (दुई) महिनाभित्र न्यायिक समितिबाट भएको निर्णय कार्यान्वयन गर्न काठमाडौँ महानगरपालिका समेतको नाममा परमादेशको आदेश जारी पनि भएको थियो । अदालतको आदेश बमोजिम मिति २०८२ कात्तिक १४ गते महानगरको डोर खटी गई निर्णय कार्यान्वयन गरिएको थियो ।

निर्णय कार्यान्वयन गरेको ६ महिना पूरा भएपछि मिश्रले वैशाख २१ गते फेरि निवेदन दिएपछि १५ दिनभित्र घरधनीलाई बुझाउनुपर्ने बहाल रकम बुझाई आफ्नो सर समान लैजान सूचना जारी भएको हो ।

धेरै पढिएको