लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को विधानअनुसार संघको केन्द्रीय सदस्य (आईसीसी सदस्य) तथा पदाधिकारीहरूको ठूलो संख्यामा मनोनयनको तयारी गरिएको छ।
संघका अनुसार भोलि शनिबारदेखि सुरु हुने दुईदिने केन्द्रीय समितिको पदाधिकारी बैठकले संरक्षक, क्षेत्रीय तथा केन्द्रीय पदाधिकारी र आईसीसी सदस्य गरी करिब एक सय जनाको मनोनयन गर्ने तयारी गरेको छ।
गत मार्च महिनामा सम्पन्न १२औं बृहत् एकता महाधिवेशनबाट पारित विधानले अध्यक्ष डा. हेमराज शर्मालाई फराकिलो अधिकार प्रदान गरेपछि सबै पक्षलाई समेटेर पदाधिकारी नियुक्ति गर्ने प्रक्रिया अघि बढाइएको हो।
अध्यक्ष डा. शर्माले पहिलो पटक पदाधिकारी मनोनयनका लागि स्पष्ट मापदण्ड तयार गरेका छन्। ती मापदण्ड पूरा गर्ने व्यक्तिहरूको नाम आगामी बैठकमा प्रस्तुत गरिने तयारी गरिएको छ।
उनका अनुसार संस्थागत एजेन्डाअन्तर्गत विभिन्न पदहरूमा मनोनयन गर्ने विषय समावेश गरिएको छ भने प्राप्त नामहरू महासचिव डा. चिरन्जीवी खड्काले संकलन गरिरहेका छन्।
डा. शर्माले सयौं नामहरू प्राप्त भएको तर मनोनयन गर्नुपर्ने संख्या सीमित भएकाले छनोटका लागि स्पष्ट मापदण्ड आवश्यक परेको बताए। यसै सन्दर्भमा बिहीबार बसेको पदाधिकारी बैठकले आवश्यक मापदण्ड तय गरेको हो। सबै सुझाव र सल्लाहलाई उच्च सम्मानका साथ ग्रहण गरिने उनले बताए।
आईसीसी सदस्य मनोनयनमा महिला, दोस्रो पुस्ताका गैरआवासीय नेपाली तथा विज्ञ एवं ख्यातिप्राप्त व्यक्तिहरूको कम्तीमा ७० प्रतिशत सहभागिता सुनिश्चित गरिनेछ। साथै, राजनीतिक दलका भ्रातृ संगठनका पदाधिकारीहरूलाई समावेश नगर्ने नीति अपनाइएको छ।
आईसीसी सदस्य मनोनयनका मापदण्डहरू:
– महिला, दोस्रो पुस्ता तथा विज्ञ व्यक्तिहरूको कम्तीमा ७०% सहभागिता सुनिश्चित गर्ने।
– संघको रिब्रान्डिङ लगायतका कार्यक्रमहरूमा योगदान गर्न सक्ने व्यक्तिलाई प्राथमिकता दिने।
– यसअघि मनोनित भइसकेकाहरूलाई पुनः मनोनयन नगर्ने।
– राजनीतिक दलका भ्रातृ संगठनका पदाधिकारीहरूलाई समावेश नगर्ने।
– आर्थिक विवाद वा प्रहरी मुद्दामा संलग्न व्यक्तिलाई समावेश नगर्ने।
– संघको बक्यौता रकम नबुझाएकाहरूलाई समावेश नगर्ने।
– हालका पदाधिकारीका निकटतम परिवारका सदस्यलाई समावेश नगर्ने।
– एनसीसी एकतामा नकारात्मक भूमिका खेलेका व्यक्तिलाई समावेश नगर्ने।
– क्षेत्रीय तथा अन्य विविध पक्षहरूको सन्तुलन कायम गर्ने।
– आईसीसी लेभी (रु. १ लाख) बुझाउनुपर्ने।
– एकता नभएका वा सदस्यता शुल्क नबुझाएका एनसीसीबाट सिफारिस भएकाहरूको मनोनयन स्थगित गर्न सकिने।
– आईसीसी पदाधिकारी मनोनयनका मापदण्डहरू:
– एनसीसी एकीकरणमा योगदान गरेका अध्यक्ष तथा पदाधिकारीलाई पहिलो प्राथमिकता।
– निर्वाचन प्रक्रियामा सहभागी भए पनि अन्तिम सूचीमा नपरेका योग्य व्यक्तिलाई दोस्रो प्राथमिकता।
– बृहत् एकताको भावना समेटिने गरी चयन गर्ने।
– रिब्रान्डिङ कार्यक्रमहरूमा योगदान गर्न सक्ने व्यक्तिलाई प्राथमिकता।
– राजनीतिक दलका भ्रातृ संगठनका वर्तमान पदाधिकारीलाई समावेश नगर्ने।
– आर्थिक विवाद वा प्रहरी मुद्दामा संलग्न व्यक्तिलाई समावेश नगर्ने।
– संघको बक्यौता रकम नबुझाएकालाई समावेश नगर्ने।
– क्षेत्रीय सन्तुलन कायम गर्ने।
– यसअघि कार्यकारी पदमा रहेका व्यक्तिलाई सोही वा माथिल्लो पदमा पुनः मनोनयन नगर्ने।
– हालका पदाधिकारीका निकटतम परिवारलाई समावेश नगर्ने।
– एकता नभएका एनसीसीबाट सिफारिस भएकाहरूको मनोनयन स्थगित गर्न सकिने।
आईसीसी सल्लाहकार तथा मानार्थ सदस्यका मापदण्डहरू:
– पूर्व सल्लाहकार तथा मानार्थ सदस्यलाई सम्मान गर्दै नयाँलाई अवसर दिने।
– कम्तीमा २०% विज्ञ तथा ख्यातिप्राप्त व्यक्तिहरू समावेश गर्ने।
– रिब्रान्डिङ कार्यक्रममा योगदान गर्न सक्ने व्यक्तिलाई प्राथमिकता।
– महिलाको सहभागिता सुनिश्चित गर्ने।
– सल्लाहकारका लागि कम्तीमा एक कार्यकाल आईसीसी पदाधिकारी भएर काम गरेको अनुभव हुनेलाई प्राथमिकता।
– संघको बक्यौता नबुझाएकालाई समावेश नगर्ने।
– आर्थिक वा कानुनी विवादमा परेका व्यक्तिलाई समावेश नगर्ने।
– हालका पदाधिकारीका निकटतम परिवारलाई समावेश नगर्ने।
– कुनै एनसीसीले वैध कारणसहित लिखित आपत्ति जनाएमा अध्ययनपछि मात्र निर्णय गरिने।
– प्रतिशोधपूर्ण आपत्ति प्रमाणित भए सम्बन्धित एनसीसीलाई सचेत गराइने।
– एकता नभएका वा शुल्क नबुझाएका एनसीसीबाट सिफारिस भएकाहरूको मनोनयन स्थगित गर्न सकिने।