काठमाडौँ । विगत ६ महिनादेखि महँगी भत्ता नपाएको भन्दै प्रेस काउन्सिल नेपालका स्थायी कर्मचारीहरूले धर्ना सुरु गरेका छन् ।
सरकारद्वारा निर्धारित अनिवार्य दायित्वअन्तर्गत पर्ने महँगी भत्ता गत माघ महिनादेखि उपलब्ध नगराइएको भन्दै कर्मचारीहरूले बिहीबारदेखि ‘पेन डाउन’ गरी कामकाज ठप्प पारेका हुन् ।
काउन्सिलका सूचना अधिकारी रामशरण बोहराकाअनुसार कर्मचारीहरूले लामो समयदेखि व्यवस्थापनसमक्ष भत्ता उपलब्ध गराउन माग गर्दै आएका थिए । बोर्ड सदस्यहरूको कार्यकाल समाप्त भई बोर्ड रिक्त रहेको अवस्थामा कर्मचारीहरूको जायज मागलाई बेवास्ता गरिएको उनको गुनासो छ । कर्मचारीहरूले बिहीबारबाट काउन्सिलको कामकाज रोकेर धर्ना दिइरहेका छन् । भत्ता पाउने ठोस सुनिश्चितता नभएसम्म आन्दोलन र कामकाज बहिष्कारको कार्यक्रम निरन्तर जारी रहने सूचना अधिकारी बोहराको चेतावनी छ ।
सूचना अधिकारी बोहराले भने ‘काउन्सिल सचिवालयका स्थायी कर्मचारीहरूले माघ महिनादेखि सरकारको अनिवार्य दायित्वअन्तर्गत पर्ने महँगी भत्ता हालसम्म पनि पाएका छैनौँ । यस विषयमा हामीले पटकपटक व्यवस्थापनसँग अनुरोध गर्दै आएका छौँ । बोर्ड रहेको अवस्थादेखि नै हामीले महँगी भत्ता रोकिएको विषय उठाउँदै आएका थियौँ । तर हाल बोर्डसमेत नभएको अवस्था छ र हाम्रो माग अझै सम्बोधन भएको छैन ।’
सूचना अधिकारी बोहराले विरोध कार्यक्रम अधिकार प्राप्तिका लागि गरिएको मर्यादित दबाबमूलक रहेको उनले बताए ।