१९ असार २०८३, शुक्रबार
Follow Us

शिक्षाको प्रमुख चुनौती दलीयकरण रहेको गगन थापाको दाबी

नेपालब्रिटेन संवाददाता
१९ असार २०८३, शुक्रबार १२:१७

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले शिक्षा क्षेत्रको सुधारका लागि विद्यालयलाई दलगत प्रभावबाट मुक्त गर्न जरुरी रहेको बताएका छन् । शुक्रवार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै सभापति थापाले यस्तो बताएका हुन् ।

उनले शिक्षा क्षेत्रमा विद्यमान राजनीतिकरण र दलीयकरण शिक्षा क्षेत्रको सुधार नहुनुको प्रमुख कारण भएको बताए । विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक र शिक्षक नियुक्तिसम्म दलगत आधारमा हुने प्रवृत्तिले मुलुकको शिक्षा प्रणाली धराशायी भएको उनको भनाइ छ । यद्यपि शिक्षा आफैँमा राजनीतिक मुद्दा भएकाले समुन्नत नेपाल निर्माणका लागि शिक्षा क्षेत्रले खेल्नसक्ने भूमिकाबारे गम्भीर बहस आवश्यक रहेको उनले बताए ।

उनले भने ‘शिक्षामा राजनीति भयो भनिन्छ । शिक्षामा राजनीति भएन भन्छु म । शिक्षामा दलीयकरण भयो । हामीलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पनि आफ्नै मान्छे चाहियो, प्रधानाध्यापक पनि आफ्नै मान्छे चाहियो । हामीले गाउँतिर गएर फलानो विद्यालयको अवस्था कस्तो छ ? भनेर सोध्यो भने त्यो विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष, शिक्षक हाम्रै मान्छे हो भन्ने गरेको सुन्छु । हामीले समुन्नत नेपालको सपना देखेका छौँ, शिक्षा क्षेत्रले मुलुकलाई समुन्नत बनाउनको लागि कहाँनिर योगदान दिनसक्छ ? त्यो लक्ष्य र उद्देश्यको छलफल यहाँ गर्नुपर्छ ।’

उनले मुलुकको समृद्धि र विकासका शिक्षा क्षेत्रले खेल्नसक्ने भूमिका र योगदानबारे राजनीतिक वृत्तमा पर्याप्त बहस हुनु आवश्यक रहेको बताए । उनले सरकारले हतारमा परीक्षाफल प्रकाशित गर्ने र छिटो परीक्षाफल प्रकाशित हुनु ठुलो उपलब्धि ठान्ने सोचले हजारौँ विद्यार्थी समस्यामा परेको समेत बताए ।

उनले कक्षा १० र १२ को परीक्षाफलको सन्दर्भमा देखिएका समस्याबारे संसदमार्फत सरकारको ध्यानाकर्षण गराउने समेत बताए ।

धेरै पढिएको