लण्डन । बेलायतको नयाँ प्रधानमन्त्रीमा एन्डी बर्नह्याम नियुक्त भएका छन् ।
बेलायतको सत्तारूढ लेबर पार्टीले गत शुक्रबार आयोजना गरेको विशेष सम्मेलनमार्फत दलको नेता चयन भएपछि उनलाई बेलायती राजा चार्ल्स तृतीयले परम्पराअनुसार सोमबार प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।
नियुक्तिपछि प्रधानमन्त्रीको आधिकारिक निवास तथा कार्यालय डाउनिङ स्ट्रिटमा सम्बोधन गर्दै बर्नह्यामले आगामी १० वर्षका लागि स्पष्ट कार्ययोजना प्रस्तुत गर्ने घोषणा गरे । उनले भने, “हामी देशलाई स्थिरता, समृद्धि र समानताको दिशामा अगाडि बढाउनेछौं। प्रत्येक नागरिकको जीवनस्तर सुधार्नु हाम्रो पहिलो प्राथमिकता हुनेछ।”
उनले जनजीविका सहज बनाउन थप काउन्सिल घरहरू निर्माण गर्ने, उद्योगधन्दा विस्तार गर्न नयाँ कारखानाहरू खोल्ने तथा रोजगारी सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरे । साथै, उनले सडकमा बस्न बाध्य हुने अवस्थाको अन्त्य गर्ने लक्ष्यसहित विशेष कार्यक्रम ल्याउने बताए ।
उनले आफ्नो सम्बोधनमा थपे, “बेलायतमा कसैले पनि सडकमा सुत्नुपर्ने अवस्था आउनु हुँदैन। हामी सबैका लागि सुरक्षित र सम्मानजनक आवास सुनिश्चित गर्नेछौं।”
५६ वर्षीय बर्नह्याम पछिल्लो एक दशकमा बेलायतका सातौँ प्रधानमन्त्री बनेका छन् । यसअघि भएको स्थानीय निर्वाचनमा सत्तारूढ लेबर पार्टीले पराजय बेहोरेपछि आफ्नै दलभित्र नेतृत्व परिवर्तनको दबाब बढेको थियो । सोही क्रममा पूर्व नेता केयर स्टारमरको बहिर्गमनपछि बर्नह्याम पार्टी नेतृत्व हुँदै प्रधानमन्त्री पदमा पुगेका हुन् ।