६ श्रावण २०८३, बुधबार
Follow Us

दिल्लीको विद्यार्थी आन्दोलन फैलियो पटनातिर

नेपालब्रिटेन संवाददाता
६ श्रावण २०८३, बुधबार ११:०३

छिमेकी देश भारतको दिल्लीमा जारी विद्यार्थी आन्दोलनको समर्थनमा बुधबार बिहारको राजधानी पटनामा ‘अल इन्डिया स्टुडेन्ट्स एसोसिएसन’ को आह्वानमा विद्यार्थीहरूले प्रदर्शन गरेका छन् ।

यस प्रदर्शनमा अन्य विभिन्न विद्यार्थी संगठनका प्रतिनिधिहरू पनि सहभागी रहेको भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सले जनाएको छ । प्रदर्शनकारीहरूको मार्च पटनाको गान्धी मैदानस्थित गेट नम्बर १० बाट सुरू भई राजभवनतर्फ अघि बढेको थियो । तर गान्धी मैदान नजिकैको जेपी गोलम्बरमा प्रहरीले उनीहरूलाई रोकेका थिए ।

प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले वाटर क्यानन (पानीको फोहोरा) र अश्रुग्यास प्रहार गरेका छन्। बिबिसीका अनुसार प्रहरीका तर्फबाट अश्रुग्यासका दुईवटा गोला प्रहार गरिएको छ। त्यस क्रममा प्रदर्शनकारीका तर्फबाट पनि प्रहरीमाथि ढुंगामुढा गरिएको आरोप छ ।

प्रहरीको कारबाहीका बाबजुद प्रदर्शनकारी विद्यार्थीहरू जेपी गोलम्बरमा रोकिएनन् र अघि बढ्दै डाक बंगला चौराहासम्म पुगेका छन् ।

यस क्रममा विद्यार्थीहरूले ‘गोदी मिडिया गो ब्याक’ का नारा निरन्तर लगाइरहेका थिए । प्रदर्शनका क्रममा केही सञ्चारकर्मी घाइते भएको खबर बाहिर आएको छ । पछि केही व्यक्तिहरूको हस्तक्षेपपछि सञ्चारकर्मीहरूलाई भीडबाट सुरक्षित बाहिर निकालिएको थियो ।

धेरै पढिएको